राष्ट्रपतिले शीर्ष नेतालाई भने- सहमतिका लागि किन सिन्को भाँच्नुहुन्न?

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई अहिलेको राजनीतिक अन्योललाई चिर्दै शीघ्र राजनीतिक निकास निकाल्न पुनः आग्रह गरेका छन्। उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग कति दिन, कति महिनासम्म देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्छ? भनेर प्रश्‍नसमेत गरेका थिए।

‘अझै कति दिन, कति महिना देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्छ,’ उनले भने, ‘सहमति गर्छौ भन्नुहुन्छ तर किन सहमतिमा पुग्न सक्नुहुन्न? सहमतिका लागि किन सिन्को भाँच्नुहुन्न?’

राष्ट्रपति यादवले आज बिहान एमाओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मधेसी जनअधिकार फोरमसहित अन्य दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाई यी प्रश्नहरु राखेका हुन्।

राष्ट्रपति यादवले आज प्रमुख दलका शीर्ष नेताहरुसँगको भेटघाटमा लिखित भनाइहरु राखेका थिए। उनले दलका शीर्ष नेताहरुको भनाइ सुन्नुभन्दा पनि आफ्नो लिखित भनाइ राख्न चाहेका मधेसी जनअधिकार फोरमका महासचिव रामसहाय यादवले जानकारी दिए।

‘संविधान सभा विघटन हुनु आफैंमा अत्यन्त दुःखद् कुरा हो, विघटन भएपछि उत्पन्न थप राजनीतिक अन्योलको निकास निकाल्न दलहरु गम्भीर नहुनु अर्को दुःखद् पक्ष हो,’ राष्ट्रपतिको मन्तव्य उद्धृत गर्दै रामसहायले भने।
संविधान सभा विघटन भएको पाँच महिना भइसक्दा पनि निर्वाचनमा जाने कि संविधान सभा पुनःस्थापना गर्ने भन्ने विषयमा दलहरु बीचमा किन अन्योल र सहमति हुन नसकेको हो भन्ने प्रश्न राख्दै राष्ट्रपतिले असोज १४ गते भएको सहमतिबाट पछाडि फर्केको गुनासो शीर्ष नेताहरुसँग गरेका थिए।
राष्ट्रपति यादवसामु प्रमुख दलहरुले असोज १४ गते निर्वाचनमा जाने प्रतिबद्धता जनाएका थिए। राष्ट्रपतिले निर्वाचनमा जाने हो भने निर्वाचनको प्रक्रिया र पद्धतिमा सहमति गर्न आग्रह गरेका थिए। सो दिनको भेटमा दलहरुले असोज २९ गतेभित्र ती विषयमा सहमतिमा पुग्ने प्रतिबद्धता पनि जनाएका थिए।

आगामी दिनमा गरिने सहमतिको खाका राष्ट्रपतिले दलका नेतासँग माग गरेको फोरमका महासचिव यादवले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिले आफूलाई राजनीतिक विवादमा नतान्न र अनावश्यक टीकाटिप्पणी नगर्न आग्रहसमेत गरे।

‘मैले संविधानको संरक्षकको भूमिका निर्वाह गरिराखेको छु, आगामी दिनमा गर्छु पनि, तर मलाई विवादमा तान्ने काम कहीं कतैबाट गरिनु हुन्न’, राष्ट्रपति यादवले भनेका थिए। महासचिव यादवका अनुसार राष्ट्रपति आज दलहरुसँग गम्भीर मुद्रामा प्रस्तुत हुनुभएको थियो।

‘मैले पटकपटक दलका नेतासँग कहिले एकल त कहिले सामूहिकरुपमा छलफल गरेँ। जारी शान्ति प्रक्रिया पूरा गर्न र नेपाली जनताको चाहनाअनुरुप नयाँ संविधान जारी गर्न आग्रह गर्दै आएँ। तर ती महत्वपूर्ण विषयमा जनचाहना अनुरुप काम किन भइराखेको छैन’, राष्ट्रपति यादवको प्रश्न थियो।

राष्ट्रपति यादवसँगको आजको भेटमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरमका महासचिव रामसहाय यादवलगायतका नेताहरु सहभागी थिए।

राष्ट्रपति यादवसँगको भेटपछि एमाओवादीका अध्यक्ष प्रचण्डले संविधान सभा पुनःस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विषयमा छिट्टै सहमति हुने बताए। उनले भने, ‘दलहरुसँग गम्भीर छलफल भइराखेको छ, तिहारसम्म सहमति हुन्छ।’ नेपाली कांग्रेसका सभापति कोइरालाले सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा दिनुपर्ने बताए।
नेकपा(एमाले)का अध्यक्ष खनालले राष्ट्रपतिले राष्ट्रिय सहमतिको अर्को विकल्प नरहेको हुँदा छिटो सहमति गर्न, आगामी बजेटमा सहमति जुटाउन भन्नुभएको जानकारी दिए। उनले भने, ‘हामीहरुले राष्ट्रपतिका भनाइ सुन्यौं, गुन्यौं र हिँड्यौं।’ रासस

Leave a Reply

Your email address will not be published.