मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो

विराटनगर- विराटनगरमा रहस्मय हत्या भएकी उर्मिला राजवंशीको घटनाको सत्यतथ्य छानबिन आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरको छ। प्रहरी नायब उपरीक्षक दिनेश आचार्यको नेतृत्वमा काठमाडौँ आएको दुई सदस्यीय टोलीले छानबिन थालेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

स्थानीयस्तरमा छानबिन गर्न असजिलो भएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा केन्द्रबाट उक्त टोली आएको हो।
एक हप्ताअघि विराटनगरका व्यवसायी किरणसिंह बस्नेतको घरमा काम गर्ने विराटनगर-४ की उर्मिला राजवंशी अर्धनग्न मृत अवस्थामा फेला परेकी थिइन्।
राजवंशी विगत दुई वर्षदेखि बस्नेतको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन्। सो घटनाका सम्बन्धमा मृतकमा पति, आफन्त र विभिन्न सङ्घ सङ्गठनले बस्नेत दोषी रहेकाले कारबाही गर्न माग गर्दै धर्ना एवम् प्रदर्शन गरिरहेका छन्।
बस्नेतलाई अनुसन्धानको म्याद थप्दै प्रहरी हिरासतमा राखिएको छ भने विभिन्न सङ्घ सङ्गठन एवम् जातिवादी सङ्गठनले उनीमाथि कारबाही गर्न दबाब दिइरहेका छन्। केन्द्रीय अनुसन्धान टोलीले विस्तृत अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.