काठमाडौं-तराई द्रूत मार्गसहित राष्ट्रिय गौरवका आयोजनाका काम सन्तोषजनक

काठमाडौं- राजनीतिक सङ्क्रमण गहिरिँदै गएपनि आर्थिक वर्ष २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका विभिन्न १७ वटा आयोजनाको प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको जनाएको छ।

आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले रासससँग भने- राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न जुन रुपमा काम हुनुपर्थ्यो, त्यहीरुपमा नभए पनि कार्य प्रगति सन्तोषजनक मान्न सकिन्छ।

काठमाडौं–तराई मधेस द्रुत मार्ग, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्ग, हुलाकी मार्ग, तामाकोसी जलविद्युत् आयोजना, उत्तरदक्षिण लोकमार्ग (कोसी, गण्डकी, कर्णाली), मेलम्ची खानेपानी आयोजना, गणतन्त्र स्मारक, गणतन्त्र स्तम्भ, भैरहवा क्षेत्रीय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजना राष्ट्रिय गौरवका छन्।

त्यसैगरी बुढीगण्डकी जलविद्युत् आयोजना, सिक्टा सिँचाइ आयोजना, रानीजमरा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजनाजस्ता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी उच्च प्राथमिकताका साथ काम अगाडि बढाइरहेको छ।

पछिल्लो समय कम प्रगति देखिएका मेलम्ची खानेपानी आयोजना तथा पश्चिम सेती आयोजनामा पनि पुनः काम सुरु भएको छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको काम अगाडि बढाउन नयाँ बोलपत्र आह्वान गर्ने प्रक्रिया सुरु भएको र पश्चिम सेती आयोजनाको अध्ययन गर्न चिनियाँ टोली कार्यस्थलमा पुगिसकेको आयोगले जनाएको छ।

आयोगका अनुसार राष्ट्रिय गौरवका ती आयोजनामध्ये काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रगति अत्यन्त राम्रो देखिएको छ। भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले भने, ‘ तराई मधेस द्रुतमार्गको ४२ किमि ट्र्याक खुलिसकेको छ।’

उनका अनुसार मध्य पहाडी लोकमार्गको १९० किमि ट्र्याक खुलेको, पूर्व–पश्चिम रेलमार्गको सम्भावना अध्ययन पूरा भई धनुषा, महोत्तरी र सिरहामा मुआब्जा वितरणको काम सुरु भएको छ। सिक्टा, रानीजमरा, बबई सिँचाइ आयोजनाको प्रगति खुल्न नसकेकामा आयोगले चिन्ता व्यक्त गरेको छ। यी महत्वपूर्ण आयोजनाको प्रगति वितरण आयोगलाई प्राप्त नभएको आयोगले जनाएको छ।
सिँचाइमन्त्री महेन्द्र यादव ती आयोजनाका लागि थप बजेट विनियोजनमा समस्या परेकाले प्रगति हुन नसकेको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.