राष्ट्रपतिले नेताहरुलाई फेरि दिए कात्तिक ३ सम्मको समय

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरूलाई वर्तमान राजनीतिक सङ्कटको निकास दिनका लागि गरेको आग्रहअनुसार दलहरुले कुनै सहमति नगरी समय सीमा गुज्रेको छ। मुलुकको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्यका लागि यही असोज १४ गते प्रमुख ठूला र साना दलका नेताहरूसँगको सामूहिक छलफलमा राष्ट्रपति यादवले असोज महिनाभित्र सहमति जुटाउन आग्रह गरेका थिए। 

गत जेठ १४ गते संविधान सभा भङ्ग भएपछि मुलुक राजनीतिक र संवैधानिक सङ्कटमा परेकोले चाँडो निकास दिन पटकपटक गरेका आग्रहलाई ध्यानमा राख्दै राजनीतिक दलका शीर्ष नेतृत्व वार्ता र सम्वादमा क्रियाशील भए पनि ठोस सहमति हुन सकेको छैन।
असोज महिनाभित्र सङ्कट समाधानका लागि राष्ट्रपतिबाट भएको आग्रहलाई बेवास्ता गर्र्दै केही ठूला राजनीतिक दलहरुका नेता कोही विदेश भ्रमणमा त कोही जिल्ला दौडाहामा सक्रिय भएपछि पछिल्लो समयमा वार्ताको प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन।
राजनीतिक दलका नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठन, नयाँ निर्वाचन तथा राजनीतिक र संवैधानिक सङ्कटको समाधानका लागि छिटो सहमतिमा पुग्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै सहमति गर्न नसकेपछि राष्ट्रपति यादवले दिएको समय सीमा त्यत्तिकै खेर गएको हो।
दलहरुबीच सहमतिको प्रयासका बारेमा भइरहेको प्रगति र वर्तमान राजनीतिक परिस्थितिबारे राष्ट्रपति यादवसँग आजै प्रधानमन्त्री बाबुराम भट्टराईले भेटसमेत गरेका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले दिएको असोज मसान्तसम्मको समय सीमा गुजे्रपछि पुनः आउँदो कात्तिक ३ गते शुक्रबार राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि छलफलमा बोलाएका छन्। रासस

Leave a Reply

Your email address will not be published.