थारू इतिहासको उत्खनन

सागर गैरे- थारूहरूको बसोबास तराई र भित्री मधेशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अविच्छिन्न कायम छ। भारतको उत्तर प्रदेशका केहि भू–भागलाई अपवाद मानिदिने हो भने यिनीहरूले न नेपाल भारत सीमाको दश गजा नाघेका छन्, न चुरे उक्लिएरै पहाडी क्षेत्रमा बसोबास गरेका छन्। प्राचिनकालदेखि वर्तमानसम्म तराईको सबैभन्दा पुरानो बासिन्दा मात्रै नभएर ठूलो झुण्ड भएको जाति पनि हो। पछिल्लो जनगणना अनुसार संख्याको दृष्टिले चौंथो ठूलो र जनजातिमध्ये पहिलो जाति हो थारू। एउटै परिभाषा एउटै नाउ, तर ठाउँ अनुसार भाषा, संस्कृति र संस्कारमा भिन्नता पाइन्छ। थारूहरूमै पनि कोचिला, चितौनिया, कठरीया, देशाउरी, दंगाहा र राना थारूका हाँगाहरू भेटिन्छन्। सुदूर पश्चिममा राना थारूको बसोबास छ। त्यसको पूर्व कठरीयाको बसोबास छ, मध्यपश्चिममा देशौरा र दंगाहाको जगजगी छ। बुटवल पूर्व चितौनीया र त्यस भन्दा पूर्व कोचिला थारूको बाहुल्यता छ। स्थान अनुसार कतै उर्दू त कतै भोजपुरी कतै हिन्दी त कतै मैथली प्रभाव भेटिन्छ। कतै भने बंगालीको गन्ध मिसिएको छ। यिनीहरूको मुख्य बसोबास दाङ, कैलाली, बर्दिया, नवलपरासी, बारा, सुनसरी, चितवन, पर्सा, कपिलवस्तु, सप्तरी र रूपन्देहीमा रहेको छ। मध्य तथा सुदूर पश्चिममा ठूलो संख्यामा बसोबास गर्ने थारूबारे अहिलेसम्म कुनै पनि लिखित इतिहास भेटिएको छैन। वैज्ञानिक र प्रमाणिक तथ्य सहित कुनै पनि विद्वानले थारू जातिको उत्पत्ति यहिँबाट भएको भनेर ठोकुवा गर्न सकेका छैन। तराईको जल जमिन र जंगलसँग नङ मासुको सम्बन्ध गरेर बसेको यति ठूलो संख्याका थारूहरू आखिर कहाँबाट आएका हुन्? जो सुकैका लागि चासो र खुल्दुलीको विषय बन्नु स्वभाविकै हो। अहिलेसम्म थारूको उद्गम स्थलबारे अड्कल मात्रै भइरहेका छन्।
भारतको थार मरुभूमिबाट आएकोले थारू भनिएको मान्ने एकथरि विद्वान छन्। अर्काथरि यसको खण्डन गर्छन्। उनीहरूका अनुसार पहिलो त थार मरुभूमि कहिल्यै आवादी भएन, दोस्रो त्यसको आसपास कहिँबाट आइहाले पनि बाटोमा पर्ने विशाल नदिहरूले बगाएर ल्याएको पाँगो माटोबाट निर्मित उब्जाउ फाँटहरू छाडेर तराईको चुरेको कोखमा अवस्थित घना जंगलमा आए भन्नु अविश्वसनीय देखिन्छ। तराईका फाँटमा हुने कुनै पनि राजनीतिक उथलपुथल लडाइँ वा राजनीतिक संकटमा सुरक्षित आश्रयका लागि चुरेका खोंचमा अवस्थित घना वन जंगल रोज्नु अस्वभाविक देखिदैन। भारतको सिन्ध प्रदेशको थर (चित्तौड) मा मुसलमानको आक्रमणबाट बच्न पहाडी भू–भागतर्फ आएका जाति मध्येबाटै थारूहरूको उत्पत्ति भएको विद्वानहरूको तर्क छ। उनीहरूका अनुसार त्यहाँ शासन गरिरहेका राजपुतले आफ्ना पत्नी र बालबच्चालाई नोकरचाकरसहित सुरक्षित स्थलमा पठाएर आफू युद्धमा उभिए। लामो समयको पर्खाइपछि पनि युद्धमा गएका पति नफर्किएपछि अन्ततः राजपुत महिलाले आफूसँगका नोकर चाकरसँग विवाह गरी नयाँ जीवन आरम्भ गरे। तिनै पुरुषसँगबाट जन्मिएका सन्तान थारू भए। यो तर्क पनि त्यत्ति वैज्ञानिक र तर्कसंगत देखिदैन। किनकि पश्चिम नेपालका राना थारूमा रहेका केही संस्कारलाई मध्येनजर गरी यस्तो अनुमान गरिए पनि के बु‰नु जरुरी छ भने राजपुतको इतिहास चार/पाँच सय वर्ष पुरानो हो भने थारूहरू हजारौं वर्षदेखि तराईमा बस्दै आएका छन्।
थारू उत्पत्तिको कुरा गर्दा प्राचिन लुम्बिनी र कपिलवस्तुलाई पनि जोड्न पुग्छन् विद्वानहरू। कोशलका नरेश विरुद्धकले आफूमाथि भएको अपमानको बदला लिने उद्देश्यले प्राचिन कपिलवस्तुमाथि आक्रमण गरे। विरुद्धकको आक्रमणबाट कपिलवस्तु र लुम्बिनीको सभ्यता ध्वस्त भयो। बौद्धमार्गीमध्ये महासंघिक सम्प्रदायका शाक्यहरू कोही काठमाडौं छिरे कोही दाङ पसे। स्थविर सम्प्रदायका भिक्षुहरू विरुद्धकको शरण परे। बुद्ध धर्मलाई बिर्सी गृहस्थ जीवन बिताउन थाले। तिनै स्थविरहरू नै अपभ्रंश हुँदै कालान्तरमा थारू भए। स्थविरकै विकृत रूप थारू भएको मान्दछन् जनकलाल शर्मा र रमानन्द सिंह। अहिले पनि कपिलवस्तु र दाङ थारू बहुल क्षेत्र हुन्। समयको अन्तरालमा भाषा संस्कृतिमा बदलाव आउन सक्छ तर मुल पच्छ्याउँदै जाँदा इतिहासको नजिक पुग्न सकिन्छ। कतिपय विद्वानले बुद्धलाई थारू जातिकै भएको विश्वास गर्छन्।
दाङ आएका महासंघिक र स्थविरले नयाँ–नयाँ समाज बनाए, नयाँ शैलीले जीवन यापन गरे। इतिहासविद् बालचन्द शर्माका अनुसार तराई क्षेत्रका मूल निवासी चुरे फेँदमा बसेका थारूहरू लामो समय दक्षिणका आर्यसँग बसेकाले आकृतिमा मात्रै मंगोल रहे तर संस्कार परिवर्तन भयो। नेपाल उपत्यकाका प्रारम्भिक शासकहरू आभिर र गोपाल वंशी जातिको हाल कतै पृथक अस्तित्व नदेखिएकाले कतै तिनीहरूकै हाँगो थारू त होइनन्? वंशावली अनुसार गोठाला वंशी जातिहरू दक्षिणबाट प्रवेश गरेको देखिनु र थारूहरू हिमालको अन्तिम फाँटमा आवाद हुनु। यिनीहरूको मुख्य पेशा कृषि र पशुपालन भएकाले प्राचिन इतिहाससँग वर्तमान थारूहरूको स्थिति मिल्दो जुल्दो देखिन्छ।
थारूहरूबारे आधिकारिक रूपमा भेटिएको सबै भन्दा पुरानो इतिहास ललितपुरको चापागाउँको शिवदेव प्रथमको ‘स्थरु द्रंग’लाई मानिन्छ। यस शिला लेखलाई आधार मान्दा लिच्छिवकालमै थारूको बसोबास काठमाडौंमा भएको देखिन्छ। नेपालका समाजशास्त्री तथा इतिहासकारले थारूलाई नेवार, राई, लिम्बु, तामाङ, गुरुङ, मगरको समकक्षी जाति मानेका छन्। थारूहरू अस्ट्रो द्रविड मुलको र धेरै गणहरूको समिश्रणबाट बनेको महेश थारू सकार्छन्। कविलाको समिश्रणबाट बनेको वर्णशंकर जाति मान्ने पनि छन्। मजुम्दार रावो र महालानो विसले सन् १९४१ मा थारूहरूको रक्त परीक्षणबाट उनीहरूमा मंगोलीयन लक्षण पाइएको पुष्टि गरेका थिए।
थारू जातिमा रहेको रीतिरिवाज, परम्परा, संस्कार र चालचलनलाई विश्लेषण गरेर विगतबारे विश्लेषण गर्न सकिन्छ। थारूहरूका हरेक संस्कार, जुन जन्मदेखि मृत्युसम्म मानिन्छन्। तिनीहरूलाई चाहिने सबै चिजविज जंगलबाटै प्राप्त हुन्थे। वास्तवमा जंगलमा बस्नेलाई नै जडीबुटीको ज्ञान हुन्छ। थारू जातिका सबै रहनसहन, रीतिरिवाज र संस्कृति कृषिमा आधारित छन्। वर्षाको सुरुवातमा कलवा खाने, धर्तिको पूजा, माटोको पूजा गर्ने गर्छन्। खेतीपाती सुरु गर्नु अगाडी धर्तिको पूजा गर्दै तिम्रो शरणमा छौं भन्नु र खेतीपाती सकिएपछि हरैया पूजा गरी कुनै विध्नबाधापूर्वक खेतीपाती सकिएकोमा प्रकृतिलाई धन्यवाद दिइन्छ। त्यस्तै थारूहरूमा कृषि र पशुपालनको मात्रै सीप छ। हस्तकलाका सामाग्री जति कृषि र वन जंगलसँग सम्बन्धित छन्। जंगलका फल कुन खाने कुन नखाने भन्ने जानकारी छ। पहाडतिरका मान्छे च्याउ खाँदा मर्छन् तर थारूहरू मरेको रेकर्ड छैन। यी तथ्यहरूलाई केलाउँदा थारूहरूको तराई भूमीसँग नङ मासुको सम्बन्ध देखिन्छ।
इतिहासकारका अनुसार थारूहरूको उदगम स्थल दाङ हो। दाङ उपत्यकाका तथा आसपासका चुरे पहाडमा गरिएका उत्खननबाट यस क्षेत्रमा प्राचिन मानवहरूको आवागमन रहेको पुष्टि हुन्छ। दाङको हावापानी राम्रो भएकाले पनि आदि मानवहरूको दाङ उपत्यकामा आवतजावत देखिन्छ। प्राचीन अवस्थमा वर्तमान तराईका भू–भागमा ठूला–ठूला नदी र दल–दल थिए। यसले गर्दा थारू लगायत तराईका आदिवासी सुरुको अवस्थामा चुरेडाँडामा बसोबास गरेका थिए। तराईको दल–दल भाग सुक्दै गएपछि उनीहरू तराईका फाँटमा झरे। चुरे पहाडलाई भारतमा शिवालिक भनिन्छ। घना वनजंगलको कारण औलो मलेरियाको संत्रास थियो। थारूहरूसँग मात्र औलोसँग भिड्ने शक्ति थियो। यिनीहरू सुरुदेखि नै जंगलको बीच–बीचमा बस्ती बसाउन क्रियाशील रहे। बाक्ला वन जंगल त्यसमाथि अत्यधिक वर्षात्ले जलमग्न भइरहने फाँटहरू। वर्षेभरि खेतीपाती र घरायसी काममा व्यस्त भइरहँदा जंगलको अर्को कुनामा बसेका सहकर्मीसँग पनि आवतजावत पातलिनु अन्तर्त्रि्कया नहुनुको परिणाम अनुभव आदान प्रदान हुन पाएन। शायद यहि कारण ठाउँ अनुसार थारूहरू बीच रहन सहन, भाषा र संस्कारमा विविधता आयो। तराईमा धान प्रशस्त फल्नु, अनि खाद्यान्नको सबैभन्दा भरपर्दो र बढी उब्जनी हुने फसल धान भएकाले थारूहरू यो क्षेत्र छाडेर कतै गएनन्। यस क्षेत्रका बाघ भालु गैंडा तथा विषालु सर्पको बिगबिगी भएका घना जंगलबीचमा आवादी गरेर मलेरिया औलोको उच्च जोखिम चिर्दै जंगल फाँडेर खेतीयोग्य बनाउने पनि यिनै थारू हुन्।
यिनीहरूको मूल थलो दाङ मानिन्छ। बुद्धिजीवीहरू दाङमा थारू राजा दङि्गशरणको दरबारको भग्नावशेष रहेको बताउँछन्। २०६३ जेठ ८ मा दाङमा थारू राजा दङि्गशरण महोत्सव मनाइएको थियो। दङि्गशरण बाह्रौं शताब्दीका राजा थिए। यी सबै तथ्य केलाउँदा थारू जाति पहाडभित्र रहेका किराँत बोली बोल्ने मंगोलहरू मध्येकै आर्य भाषा ग्रहण गरी अलग भएको जाति हुन सक्छ। थारूहरू अत्यन्त मिलनसार सोझा र वफादार भएको व्यवहारमै देखिन्छ। शाह राजाको पालादेखि नै तराईका थारू जमिन्दारलाई कुत तथा तिरो उठाउने जिम्मा दिइएका पंजापत्रहरूले पनि तराईमा थारूहरूको पडकलाई उजागर गर्छ। ‘नेपालका राजाहरू तथा तराईका थारू’ मा पूर्व न्यायाधिवक्ता रामानन्दप्रसाद सिंह र थारू बुद्धिजीवी तेजनारायण पंजियारले संकलन गरेको लालमोहरको अध्ययन गर्दा पनि तराईको जग्गा आवादकर्ता तथा राज्यको कर उठाउने काम थारूले गर्दै आएको पुष्टि हुन्छ।
थारूहरूको लिखित इतिहास नभेटिए पनि थारू समाजमा प्रचलित लोककथा, चालचलन तथा विभिन्न सिजनमा गाइने गीतले विगतको गौरवपूर्ण गाथालाई जोगाइरहेको अनुभूति गर्न सकिन्छ। यिनीहरूको स्पष्ट इतिहास भेटिएन भन्दैमा थारूलाई रहस्यमयी जाति सोच्नु गलत हुनेछ। यिनीहरू जांगर बश तराईमा झरेका मगर हुन सक्ने मानवशास्त्री डोरबहादुर बिष्टले सबै जातको फूलबारीमा उल्लेख गरेका छन्।
थारूहरू हजारौं वर्षदेखि तराईमा बस्दै आएका छन्। यिनीहरू आकृतिले मंगोलियन भए पनि भाषा भारोपेली परिवारको हो। थारूहरू विगतदेखि यहिंको माटो, वन जंगल तथा खोला नालासँग नङ मासुको सम्बन्ध गाँसेर बसेका छन्। त्यसैले त थारूहरू आफ्नो थातथलो बेचेर वा छाडेर अन्यत्र गएका उदाहरण भेटिंदैनन्। यिनीहरूको जल जमिन र जंगलसँगको सम्बन्धलाई केलाउँदा यिनीहरू तराईका धरती पुत्र हुन् भनेर नस्विकारी धर छैन।

नागरिक पश्चिमेलीबाट साभार

2 thoughts on “थारू इतिहासको उत्खनन

  1. jankari ko lagi thank you admin ji. ”morang” ma pani tharu haru thuparai6….. yestai yestai tharu haru ko bareka jankary didai garnuhola….thank you.

  2. धेरै खुसि लाग्यो यो लेख पढ्दा ,हो म पनि धेरै, थारु इतिहास जान्न खोजे ,धेरै बूढा पाकाहरु संग यो बिसयमा कुरा बुझ्न खोजे तर कतै बाट चित बुझ्दो जवाफ पाइन , यो लेख पढेर आज धेरै चित बुझ्दो जवाफ पाएको छु धन्य बाद लेखक ज्यु लाई

Leave a Reply

Your email address will not be published.