युरोपियन युनियनलाई नोबल शान्ति पुरस्कार

एजेन्सी- युरोपियन युनियनलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ। युरोपको आर्थिक रुपान्तरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पाँच सदस्यीय नोबेल पुरस्कार कमिटीले इयुलाई सो पुरस्कार दिने निर्णय गरेको हो।

आर्थिक मन्दीबाट गुज्रिरहँदा पनि २७ मुलुकलाई एकीकरण गर्दै एकल मुद्रा युरो प्रचलनमा ल्याएकोमा नोबेल पुरस्कार कमिटीले इयुको प्रशंसा गर्दै सो शान्ति पुरस्कार दिने निर्णय गरेको हो। दोस्रो विश्वयुद्धमा विभाजित युरोपलाई एकीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कार कमिटीले इयुको प्रशंसा गरेको छ। उसले इयुले ‘युरोप पुनःनिर्माण’को काम गरिरहेको भन्दै पुरस्कारका लागि छनौट गरिएको उल्लेख गरेको छ।

विश्वको प्रतिष्ठित नोबल शान्ति पुरस्कार बापत इयुले १२ लाख अमेरिकी डलर प्राप्त गर्नेछ। डिसेम्बर १० मा आयोजना गरिने विशेष समारोहमा सो रकम हस्तान्तरण गरिनेछ। २ सय ३१ प्रतिस्पर्धीबाट इयुलाई छनौट गरिएको रोयटर्सले जनाएको छ।

इयुले नोबेल शान्ति पुरस्कार पाउनुलाई धेरैले ‘आश्चर्य’का रुपमा लिएका छन्। नोवेल पुरस्कारको कार्यालय भएको नर्वेका नागरिकले इयुलाई नोवेल शान्ति पुरस्कार दिइनु ‘चलाखीपूर्ण निर्णय’ भनेका छन्।

Leave a Reply

Your email address will not be published.