लोक सेवाको परीक्षामा आफ्नै श्रीमती र छोरीलाई बढी नम्बर

सूर्य गौतम र रामस्वरुप सिन्हा

काठमाडौं- जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक र पूर्व शिक्षा सचिवले आफ्नै श्रीमति र छोरीलाई लोक सेवाको लिखित परीक्षामा पास गराएको पाइएको छ। विकास केन्द्रका सूर्य गौतमले श्रमति इन्दीरा ढकाल गौतम र पूर्व सचिव रामस्वरुप सिन्हाले अन्तिमाकुमारी सिन्हालाई विद्यालय निरीक्षक पदमा पास गराएको पाइएको हो। शिक्षा सेवा, प्रशासन समूहअन्तर्गत विद्यालय पदको लिखित परीक्षाको कपी ती दुबैले आफैं कपी चेक गरेर पास गराएको खुलासा भएको हो।

गैरकानुनीरुपमा सिन्हा र गौतमले पास गराएको भन्दै बिहीबार दुबै जनाको परिक्षा रद्द गरिएको छ। लोक सेवा आयोग कार्यसञ्चालन निर्देशिका २०६७ को अनुसूची १९ को उत्तर पुस्तिका परीक्षण गरी पठाउने अनुरोधपत्रको बुँदा नं. ८ मा परीक्षणकर्ताको नातेदारले परीक्षा दिए सिलबन्दीरूपमा उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नुपर्ने प्रावधान छ । ‘त्यो थाहा हुँदाहुँदै सिन्हा र गौतमले कानुनले लगाएको बन्देजको उल्लंघन गर्दै छोरी र पत्नीलाई उत्तीर्ण गराउन आफैंले उत्तरपुस्तिका जाँचेको नागरिकन्युजले लेखेको छ। उनका अनुसार सिन्हा र गौतम छोरी र पत्नीलाई उत्तीर्ण गराउन नियतवश प्रश्नपत्रको परिमार्जनमा समेत संलग्न थिए। गौतम परीक्षा नियन्त्रण कार्यालयको निर्देशक हुँदा एसएलसी परीक्षाको नतिजा प्रकाशन पद्धतिलाई व्यवस्थित गराएबापत सरकारले अघिल्लो वर्ष २ लाख रुपैयाँ राशिको सबभन्दा ठूलो निजामती पुरस्कारसमेत दिएको थियो।


असोज १७ गते नेपाल होराइजनले लेखेको समाचार पढ्नुस्

नाताबादले बनायो लोकसेवालाई ‘लक’ सेवा छोरी र स्वास्नीलाई भट्टाभट्ट नम्बर

सरकारका हरेक अंगमाथि जनविश्वास गुम्दै गइरहेका बेला हालसम्म निष्पक्षताको विश्वास मेटिइनसकेको र भ्रष्टाचारबाट टाढै रहेको भनेर चिनिएको लोकसेवा आयोग पनि भित्रभित्रै त्यो आरोपबाट अछुतो नरहेको पाइएको छ । आयोगको तत्कलिन प्रश्नपत्र छपाईसम्बन्धी र चेकजाँचसम्बन्धी बाहिरका विज्ञका कारण त्यस्तो हुन गएको विशेष स्रोतले जानकारी दिएको छ ।

स्थायी सरकार मानिने प्रशासन संयन्त्रको संवाहक निजामति कर्मचारीको छनोट गर्ने एक मात्र विश्सनीय संस्था लोकसेवा आयोगप्रति एक–दुईजनाका स्वार्थले गर्दा सिंगो संस्था विवादमा तानिएको मात्रै नभएर जनविश्वास समेत गुम्ने अवस्था उत्पन्न भएको हो । गत वर्ष लिएको विद्यालय निरीक्षकको परिक्षामा प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परिक्षणसम्मको कार्यमा लोकसेवा आयोगले पत्याएका शिक्षा मन्त्रालयका विज्ञहरु नै नातावाद, कृपावाद र आर्थिक प्रलोभनमा फसेका कारण त्यस्तो हुन पुगेको हो ।
समाचार स्रोतका अनुसार विद्यालय निरीक्षक परिक्षाको लिखित परिक्षामा आफ्ना छोरीदेखि श्रीमतीसम्मलाई उत्तिर्ण गराउन पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम यसको ज्वलन्त उदाहरण बनेका छन् । पूर्व शिक्षा सचिव सिन्हाकी छोरी अन्तिमा कुमारी सिन्हा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमकी श्रीमती इन्दिरा ढकाल गौतमलाई लिखित परिक्षामा उत्तिर्ण गराइएको छ भने मौखिक परिक्षामा जसरी पनि पास गराउन संवन्धित अधिकारीलाई प्रलोभन दिइएको स्रोतले जानकारी दिएको छ ।
शिक्षा मन्त्रालयसँग आवद्ध सिन्हा र गौतमलाई लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र सोको उत्तरपुस्तिका चेकजाँच गर्ने कार्यमा बाहिरको विज्ञका रुपमा नियुक्ति गरेको थियो । सोही अवसरको फाइदा लिँदै पूर्व शिक्षा सचिव सिन्हा र सहसचिव गौतमले प्रश्नपत्र निर्माणदेखि उत्तर पुस्तिका परिक्षणसम्मको कार्य आफैँले गरी क्रमशः आफ्ना छोरी र स्वास्नीलाई परिक्षा अगावै प्रश्न चुहाउने काम मात्रै गरेनन्, कापी जाँच्ने नाममा आफ्नै हातले भटाभट नम्बर दिई उत्तिर्ण गराउन सफल भएका छन् । कतिपय प्रश्नको उत्तर पछि बोलाएर लेखाइएको समेत दावी स्रोतले गरेको छ ।
परीक्षामा अनियमितता भएको पत्तो पाएका सोही परिक्षाका परिक्षार्थीहरुले त्यसको छानविनका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । परिक्षार्थीले लोकसेवा आयोग र आयोगले पत्याएको दुबै विज्ञ भनाउँदामाथि समेत कारवाही गर्न माग गर्दै उजुरी हालिसकेको एक परिक्षार्थीले बताए । ती परिक्षार्थी उजुरीकर्ताका अनुसार सिन्हा र गौतमलाई छानविन गरी अन्तर्वार्ताको बोर्डबाट नहटाइएको खण्डमा लोकसेवा जस्तो विशुद्ध संस्थामाथिको विश्वासलाई कायम रखाउन आफूहरु विभिन्न निकायमा पुग्ने तर्खरमा छन् ।
लोकसेवा जस्ता विशुद्ध संस्थालाई समेत गोल्चक्करमा फसाएर आफ्नो नातावाद, कृपावाद लाद्न सफल सहसचिव सूर्यप्रसाद गौतमलाई नेपालमा पहिलोपटक प्रदान गरिएको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गर्नुलाई कसरी हेर्ने ? राज्यले गरेको मूल्यांकनप्रति मुलुक र सर्वसाधारण जनताको सेवा गर्दै आएका निजामति कर्मचारीले राज्यले कस्तो मूल्यांकन गर्दो रहेछ भनी आश्चर्यमा परेका छन् । त्यसैले सम्पूर्ण नेपाली जनतालाई लोकसेवा आयोग भएको छ भने सिन्हा पुत्री र गौतम पत्नीलाई ‘लक’ सेवा आयोग भएको छ ।

लोकसेवा आयोगले निकालेको नोटिस पढनुस्

Leave a Reply

Your email address will not be published.