एट्लान्टिस्मा एक रात

जीवा लामिछाने- जल भन्दा थोरै जमिनमा मानवले गरेको कतिपय निर्माणले प्रकृतिको सिर्जनासँग आश्चर्यजनक प्रतिस्पर्धा गर्न खोजेको छ। दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। ‘सेभेन स्टार’ भनिने ‘पाम जुमेरा’को बुर्ज अल अरबलाई त आठौं आश्चर्य नै मानिन्छ। संसारकै नमूना परियोजना पाम जुमेराका होटल र आवास–अपार्टमेन्टहरूले संसारलाई आकर्षित गरेको छ। शाहरूख खान, डेभिड बेकह्यामलगायतका सेलिब्रेटी र विश्व प्रसिद्ध उद्योगपति–व्यवसायीहरूले यहाँ अपार्टमेन्ट किनेका छन्।
अट्लान्टिस दि पाल्म होटल पाल्म जुमेराको एउटा आकर्षण हो। डेढ अर्ब अमेरीकी डलरको १५३९ कोठा र २३ तलाको एट्लान्टिस लक्जरी डिलक्स होटल, गएको दशकमा दुबईमा भएको बाहिरी लगानी र विकासको प्रतिक हो। क्रेइज्नर इन्टरन्यासनल होल्डिङ्सका मालिक सोल क्रेइज्नरले नोभेम्बर २००८ मा यो होटल खोल्दा अन्तर्राष्ट्रिय हेडलाइन बनेको थियो। अन्तरिक्षबाट समेत देख्न सकिने आतिशबाजीसहित गरिएको होटल उद्घाटन समारोहको खर्च डेढ करोड डलर थियो। यो कार्यक्रम मेरो छोरा अनुकृतले टेलिभिजनमा हेरेको रहेछ। एक रात भए पनि यो होटलमा बस्ने उसको इच्छा पूरा गर्ने मौका मैले गत जुलाईमा सेसल्सबाट मस्को फर्किने क्रममा मिलाएको थिएँ। म यो होटलमा पटक–पटक गए पनि राति बस्ने चाँजोपाँजो मिलेको थिएन।

स्वप्निल एट्लान्टिस्
दुबई एअरपोर्टमा विन्दिता, अनुराग र अनुकृतको अन–अराइभल भिसा लिएपछि हामी ट्याक्सीबाट अपरान्ह तीन बजे पुग्दा एट्लान्टिस् खचाखच थियो। हामी पुग्दा कोठा व्यवस्थापन नभइसकेकोले हामीलाई त्यहाँका १३ रेस्टुरेन्टमध्ये क्यालिडेस्कोपमा निःशुल्क लन्च गराइयो। आतिथ्यतामा कुनै कमी हुन नदिन यस्तो महँगो सहुलियत दिइएको थियो। लन्चपछि साँझ् आठ बजेसम्म वाटर पार्क र स्वीमिङ्ग पुलमा बस्यौं। छोराहरू माछा जस्तै पानीमा उफ्रन, ट्युबबाट क्यानलमा घुम्न, माथिबाट खसेको पानीमुनि उभिएर मसाज लिनमा बढी रमाए। वाटर पार्क र त्यसभित्रका अनगिन्ती वाटर एड्भेन्चर, डल्पि्कन वे–, होटलका मुख्य आकर्षण रहेछन्।
समुद्रभित्र जस्तो लाग्ने ‘लस्ट च्याम्बर’को अक्वारियममा रहेका अनेक रूपरङ, आकारप्रकार र प्रजातिका ७० हजार माछाका क्रियाकलाप अद्भुत थियो। एक करोड लिटरको यो अक्वारियममा रहेका साना ठूला माछाहरुसँगै केही मानिस ‘स्नोर्कलिङ’ गरिरहेका थिए। हामी ‘लस्ट चेम्बर’बाट शीत परिरहेको सुरुङहुँदै दुलही झैं सिंगारिएको एट्लान्टिस् परिसरमा निस्कियौं। होटलबाट समुद्र किनारको पाल्म जुमेराह स्टेसनसम्म मोनोरेलको व्यवस्था छ। सन् २०१२ मा संसारकै सबैभन्दा हाइजेनिक होटल घोषित एट्लान्टिस्को राम्रो तलब सुविधामा रमाएर काम गरिरहेका करीब २०० नेपालीमध्ये केहीसँग भलाकुसारी पनि भयो।
बिहान हामी फेरी स्वीमिङ्ग पुल र समुद्रमा गयौं। समुद्रको पानी हिजो जस्तो तातो थिएन। जलक्रीडापश्चात् ब्रेकफास्टका लागि शाफ्रो रेस्टुरेन्टमा जाँदा चाख्न मात्र पनि सम्भव नहुने अरेबियन, इन्डियन, चाइनिज, जापानिज, फ्रेन्च, इटालियन र अन्य परिकारहरू तयार थिए। ब्रेकफस्टपश्चात् पुनः एकपटक वाटर पार्कको ट्युबमा एक फन्को लगाएर हामी होटलबाट बाहिरियौं। मुख्य शहरबाट टाढा स्वप्निल एट्लान्टिस्– एउटा विशेषता अत्यन्तै महँगो हुनुपनी हो।

स्वदेशको सम्झ्ना
एट्लान्टिस्को एक राते बसाईमा मलाई स्वदेशको अथाह सम्भावना र रिक्तताहरूको मिसमास सम्झ्ना भइरह्यो। नेपालसँग नभएको एउटा समुद्रको अभाव पूर्ति गर्ने भरमार प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छन्। यीनको व्यवस्थापन र बजारीकरण गर्दा संसारभरिका मानिसको छुट्टी मनाउने उत्तम गन्तव्य बन्छ, नेपाल।
संसार अहिले एउटा गाउँजस्तो भइसकेको छ र बहुराष्ट्रिय कम्पनीहरू लगानीका लागि चारैतिर आँखा लगाइरहेका छन्। नेपालमा राजनीतिक स्थिरता, शान्तिसुरक्षाको प्रत्याभूति र मजदुर संयमता मात्र हुँदा पर्यटनसहित सबै क्षेत्रको विकास निजी क्षेत्रले नै गर्ने थियो। आर्थिक गतिविधिका लागि उपयुक्त वातावरण भए अरबको उजाड मरुभूमिमा पैसा खन्याइरहेका विदेशी कम्पनी र धनाढ्यहरूको लगानी प्रतिस्पर्धा नेपालमा चल्ने पक्का छ। त्यो अवस्थामा प्रकृतिको वरदान नेपालमा उनीहरूले अद्भुत संरचनाहरू निर्माण गर्थे होलान्। रोजगारीको भण्डार पनि नेपाल नै हुन्थ्यो होला। आखिर, दुबईले गर्व गर्ने यो स्वप्निल एट्लान्टिस् होटल पनि विदेशीले नै त बनाएका हुन्। हाम्रा नेताहरूले राजनीतिक प्रतिस्पर्धासँगै विकासमा पनि होड गर्ने हो भने छोटो समयमै समृद्धि प्राप्त गर्ने खालको छ, हाम्रो देश ।

One thought on “एट्लान्टिस्मा एक रात

Leave a Reply

Your email address will not be published.