पढ्न चाहन्छिन् ७ फिटकी उर्मिला

उर्मिला चौधरी। तस्बिर सौजन्य : उपेन्द्र लामिछाने

भक्तपुर- सात फिट दुई इन्च अग्ली सिरहा ढोर्नाकी उर्मिला चौधरीलाई हेर्न म‌गलबार दिउँसो लोकन्थलीस्थित मितेरी अस्पतालमा घुँइचो लाग्यो। नियमित जाँचका लागि आफ्नी आमासँग आएकी थिइन् १ सय १५ केजी तौलकी २० वर्षे चौधरी।

‘यति ठूलो आइमाइ मान्छे अहिलेसम्म देखेकी थिइनँ, स्थानीय सम्झना खनालले भनिन्,’ उनलाई हेर्न हामीलाई पूरै मुन्टो आकाशतर्फ फर्काउनुपर्‍यो।’

उचाई बढ्ने समस्याबाट पीडित उर्मिलाले दुई वर्षअघि उपचार गराएको अस्पतालका अध्यक्ष डा. वीरेन्द्र झापालीले बताए। ‘मस्तिष्कमा रहेको पिट्रोरटरी ग्ल्यान्ड अप्र्सन गरेर उनको हार्मोन ब्लक गर्‍यौं,’ उनले भने, ‘नत्र उनको उचाइँ अझै बढ्थ्यो।’ अस्पतालको रेकर्डअनुसार उर्मिलाको उचाई ७ फिट २ इन्च छ। संसारकै सबैभन्दा अग्ली महिला चीनकी डेफेन यावको उचाई भने ७ फिट ९ इन्च छ।

उर्मिलालाई डाइबेटिज रहेको डा. झापालीले बताए। चिकित्‍सकद्वय गोपालमान शर्मा र पवन अग्रवालको टिमले उनको निशुल्क उपचार गरेको उनले सुनाए। डाइबेटिज हुनुअघि उर्मिलाको आहार निकै धेरै थियो। ‘दुई वर्षअघि अस्पतालमा ५ केजी पिठोको रोटी दिँदा पनि उनको पेट भरिँदैन्थ्यो,’ उनले भने।

घरका अन्य दुई सन्तान सामान्य छन्। छोरीको औसतभन्दा धेरै उचाईका कारण आमा चन्द्रदेवी दुःखी छिन्। उचाईका कारण उर्मिला पनि दुःखी छिन्। ‘मलाई हिँड्दा होस् या बसमा यात्रा गर्दा जहाँ पनि असजिलो महसुस हुन्छ,’ उनले भनिन्, ‘मानिसले झुम्मिएर हेर्दा पनि रमाइलो लाग्दैन।’ आर्थिक अभावका कारण पढाइ अघि बढाउन नसकेकी एसएलसी अनुत्तीर्ण चौधरीले पढ्न चाहेको बताइन्।

नागरिक दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.