किशोर-किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बन्ने

काठमाडौं- राष्ट्रिय योजना आयोगले किशोर किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहकार्यमा आयोगले किशोर किशोरीको समग्र आर्थिक, सामाजिक विकास गर्न कार्ययोजना बनाउन लागेको हो।

आयोगले निर्माण गरिरहेको अगामी १३ औँ योजनामा सो कार्ययोजना समावेश गरिने छ। किशोर किशोरी भन्नाले १० देखि १९ वर्ष समूहलाई जनाउँछ। मिडिया एड्भोकेसी ग्रुपद्वारा ‘किशोर किशोरीका कुराः सञ्चार माध्यको भूमिका’ विषयक आज यहाँ आयोजित कार्यक्रममा आयोगले किशोर किशोरीलाई सम्बोधन गरी पहिलोपटक सो कार्ययोजना बनाउन लागेको जानकारी दिइयो।

नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत किशोर तथा किशोरी छन्। आयोगका सदस्यसचिव युवराज भुसालले आगामी योजनामा किशोर किशोरीसम्बन्धी कार्ययोजना समावेश हुने जानकारी दिए। सूचना तथा सञ्चार मन्त्रालयका सचिव सूर्य सिल्वालले किशोर किशोरीसम्बन्धी गोष्ठी आयोजना हुँदा यो विषय स्थापित हुने तर गोष्ठी सकिएपछि यो विषय विस्थापित हुने पुरानो परम्परा अन्त्य होस् भने।

उनले सरकारले छ हजार पत्रपत्रिका, ६४० एफएम, ३९ टेलिभिजन च्यानललाई अनुमति दिएको भए पनि ती सञ्चार माध्यममा राजनीतिले प्राथमिकता पाउने तर सामाजिक मुद्दा ओझेलमा पर्ने गरेको बताए। नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले किशोर किशोरी भविष्यका कर्णधार भनेर मात्र हुँदैन वर्तमानका साझेदार पनि हुन् भन्ने कुरा स्थापित गराउनुपर्छ, यसका लागि सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गर्नुपर्छ भने।

युएनएफपिएका उपनिर्देशक क्याथरिन ब्रिन क्यामकोङले किशोर किशोरीको आर्थिक–सामाजिक सशक्तीकरण गर्न कार्ययोजना आवश्यक भएको धारणा राखे। ग्रुपका अध्यक्ष बबिता बस्नेतले सञ्चार माध्यममा किशोर किशोरीका कुरा ओझेलमा परिरहेको चर्चा गरे। रासस

Leave a Reply

Your email address will not be published.