पूर्ण बजेट ल्याउन आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलले मुख्य राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी राजनीतिक सहमतिबाट पूर्ण बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेका छन्। महासङ्घका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा आज दलका शीर्ष नेता कहाँ पुगेको टोलीले नेपाली काँग्रेस समापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटी सहमति गर्न आग्रह गरेका थिए।

महासङ्घले सभापति कोइराला निवास र माओवादी पार्टी कार्यालय बुद्धनगर पुगेर आर्थिक क्षेत्रमा देखिएका सबै खाले अवरोधलाई सहमतिमै निराकरण गर्नुपर्नेमा जोड दिँदै व्यवसायिक वातावरण बनाउन आग्रह गरेका हुन्।

नेताहरुसँगको भेटमा उद्योगीले ट्रेड युनियन समस्या, चन्दा, भारतीय सवारीसाधन तथा चलचित्र सञ्चालनमा देखिएको अवरोधका विषयमा छलफल भएको महासङ्घका अध्यक्ष वैद्यले जानकारी दिए।

उनका अनुसार माओवादी अध्यक्ष वैद्यले आर्थिक गतिविधिलाई रोक्ने आफ्नो पार्टीको कुनै नीति नभएको, भारतीय सवारीसाधन र चलचित्र रोक्न खोजेको नभई स्वदेशी उद्योग र उत्पादनलाई प्रवर्द्धनमा जोड दिइएको बताए।

आजै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग सो प्रतिनिधिमण्डलले भेट गर्ने कार्यक्रम रहेको अध्यक्ष वैद्यले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.