बलत्कारपछि २१ वर्षीया युवतीको हत्‍या

विराटनगर- विराटनगर–४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार गरी हत्या गरिएको विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही, मृतकलाई न्याय गर, किरण बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गर्‍यो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पीडितपक्षको उजुरी दर्ता नगरेको र आरोपित व्यक्तिलाई संरक्षण दिएको समेत प्रदर्शनमा बताइएको छ।

विराटनगर–४ बस्ने किरणसिंह बस्नेतको घरमा काम गरिरहेकी एक २१ वर्षीय राजवंशीको बलात्कार गरी हत्या गरिएको परिवारले आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विगत दुई वर्षदेखि बस्नेतको घरमा घरेलु कामदारको रुपमा राजवंशी काम गरिरहेकी थिइन्।

हिजो बस्नेतको घरमा अर्धनग्न अवस्थामा मृत फेला परेको र मृतक भेटिएको कोठामा बलात्कारलाई सघाउने शङ्कास्पद बस्तु फेला परेको थियो। नेपाल बजारका सञ्चालकसमेत रहेका घरधनी बस्नेतलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको बताइएको छ।

बस्नेतले घटनालाई ढाकछोप गर्न राजवंशीको मृत्यु भएको पाँच घण्टापछि प्रहरीलाई खबर गरेकाले प्रहरीले शङ्काको आधारमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बस्नेतका दुई नातेदारलाईसमेत हिरासतमा लिएको छ।

मृतकको हिजो कोसी अञ्चल अस्पतालमा शव परीक्षण गरिएको थियो। रासस

2 thoughts on “बलत्कारपछि २१ वर्षीया युवतीको हत्‍या

  1. त्यस्ता अपराधीलाई छोड्नु हुँदैन। हदैसम्मको कारबाही गर्नुपर्छ।

  2. यस्ता अपराधिलाई कानुन कठघरमा चाडओ भन्दा चाडओ भन्दा उभाउनु पर्छ र कडा भन्दा कडा कार्बही गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.