थाई राजदूतद्वारा जनकपुरको भ्रमण

जनकपुरधाम- नेपालका लागि थाइल्यान्डका राजदूत कानथोङ उनाकुलले आफ्नो दुई दिने भ्रमणका क्रममा आज जनकपुरको धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गरे। थाई राजदूतको नेतृत्वमा आइतबार जनकपुर आइपुगेका चार सदस्यीय टोलीले जनकपुरमा अत्याधुनिक सुविधा भएको स्मशानघाट निर्माणका लागि स्थलगत भ्रमण गरेको छ।

टोलीमा थाइल्यान्डका मिनिस्टर काउन्सिलर जिरापोर्न सुदानिच रोयल थाई  मोनास्ट्री लुम्बिनीका सचिव फ्रा महासुयोत र उनका एक सहयोगी रहेका छन्। जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत बद्रीकृष्ण शङ्खदेवले टोलीले जनकपुरको बसबिट्टिस्थित दूधमती नदीको किनार तथा रामानन्द चोकस्थित रत्नसागर मन्दिरको जग्गा स्मशानघाट निर्माणका लागि अवलोकन गरेको बताए।

थाइल्यान्डका व्यापारीहरुको संस्था ‘क्रिमेसन सेन्टर’ ले जनकपुरमा व्यवस्थित तथा सुन्दर स्मशानघाट निर्माण गर्ने सोच बनाएकाले टोली ठाउँ हेर्न आएको हो। टोलीले दूधमती नदीको किनारलाई पहिलो प्राथमिकतामा राखेको टोलीका एक सदस्यले रासससँग बताए।

 

आज बिहान जनकपुरको ऐतिहासिक जानकी मन्दिरमा पूजा गर्नुभएका थाई राजदूत उनाकुलले राष्ट्रपति रामवरण यादवको आग्रहपछि नयाँ मसानघाट निर्माणका लागि जनकपुरलाई रोजेको बताए। थाई राजदूतले आजै यहाँको सांस्कृतिक सङ्ग्रहालय र मणि मण्डलको पनि भ्रमण गरे। रासस

Leave a Reply

Your email address will not be published.