विकास निर्माणमा सबै दल एकजुट हुनुपर्छ : नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको पूर्वी भेग साँखुस्थित पुखुलाछी गाविसमा निर्माण हुन लागेको शङ्करापुर पोलिटेक्निक इन्स्टिच्युटको आज शिलान्यास गर्दै नेता नेपालले माओवादीले विध्वंसात्मक गतिविधि जारी राख्दा विकास निर्माणका काम अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताए।

युवा शक्तिलाई दक्ष बनाइ उनीहरुलाई विदेसिनबाट रोक्न यस्ता इन्स्टिच्युटहरु खोलिनुपर्ने उनको कथन थियो। कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का निर्देशक गोपालकृष्ण श्रेष्ठले इन्स्टिच्युट छिटोभन्दा छिटो निर्माण गरिने बताए।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको इन्स्टिच्युटको भवन निर्माणका लागि २५ करोड नगद र २५ करोड रुपैयाँ बराबरको सामग्रीको व्यवस्था गरिने जानकारी पनि दिइएको थियो।

यो आर्थिक वर्षमा रु तीन करोडको बोलपत्र भई काम सुरु गरिसकिएको र रु सात करोड बराबरको अर्को बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेको सिटिइभिटीका निर्देशक श्रेष्ठले बताए। रासस

Leave a Reply

Your email address will not be published.