मालिकको जुठो थालमा खानुपर्ने!

kirtan chaudharyकाठमाडौँको भीमसेनगोलामा रहेको शाह म्यानपावरमा ९५ हजार रुपियाँ तिरेर म साउदी अरब पुगेको थिएँ, ड्राइभरको काम गर्न। सन् २००७ मा मैले मुलुक छाडेको थिएँ। त्यहाँ रहेको एसीसी कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गरेर गएको थिएँ। तर, साउदी अरब पुगेपछि भनेको कम्पनीमा काम गर्न पाइएन। आठ सय रियाल तलब दिने भनिए पनि छ सयमात्र दिएर सम्झौता गरेभन्दा फरक कम्पनीमा जागिर खान बाध्य हुनुपरेको थियो। 
गएको तीन महिनासम्म मैले ड्राइभिङको साटो लेबरको काम गर्नुपर्‍यो। आएपछि काम गर्नैपर्छ भन्ने लाग्यो र त्यो काम पनि गरियो। तर, जुन कामका लागि म गएको थिएँ, त्यो नपाएपछि तीन महिनामा मैले कम्पनी मालिकसँग गुनासो गरेँ। त्यसपछि उनले ड्राइभिङको काम त दिने भए तर उनकै घरमा। साहुको नाम थाहा भएन। साहुका बहिनी, छोराछोरीका लागि गाडी चलाउन थालेँ। तलब छ सयबाट एक रियाल बढेको थिएन। उनका परिवारले पनि कम्तीमा एक हजार रियाल हुनुपर्ने भनेर मलाई सुझाव दिन्थे। तर, काम गरुन्जेल तलब बढेन। मसँग छ जना अरू नेपाली पनि गएका थिए। उनीहरूको हालत पनि मेरोजस्तै थियो। ड्राइभरलाई राम्रो व्यवहार गरिँदैनथ्यो। खाना खान समस्या थियो। पहिले परिवारका पुरुषहरूले खान्थे। त्यसपछि त्यही भाँडामा उनीहरूका श्रीमतीले खान्थे। र, त्यही भाँडामा ड्राइभरले खानुपर्ने। मलाई त्यही कुरो मन परेको थिएन। तलब पनि बढाएका थिएनन्। त्यसैले म त्यो घरबाट भागेँ। मैले त्यस घरमा १५ महिना काम गरेको थिएँ।
अब म त्यहाँ अवैधानिक कामदारका रूपमा रहन पुगेँ। अल पाद धोसरी भन्ने कम्पनीमा ड्राइभर भएर काम गर्न थालेँ। ठूलो ट्रक चलाउँथें। तलब १३ सय रियाल थियो। लुकेर काम गर्नुपर्ने बाध्यता थियो। केही महिनामा मैले डोजर चलाउन सिकेँ। त्यसपछि डोजर चलाउन थालेँ। चौध घण्टा डोजर चलाउने काम गर्दा कम्तीमा १८ सय रियाल तलब हुन थाल्यो। काम गर्दै जाँदा १५ महिनासम्म मैले डोजर चलाएँ। सोही बेला इलिगल कामदारका लागि आममाफीको घोषणा भएको थियो। नेपाली दूतावासले पनि कागजपत्रका आधारमा मुलुक पठाउने काम थालेको थियो। जोखिममा लामो समयसम्म काम गर्ने रहर पनि थिएन। दूतावासमा सम्पर्क गरी म मुलुक फर्किएँ। त्यसपछि अहिलेसम्म कुनै देश गएको छैन। चार वर्ष साउदीमा बस्दा नै म हायलकायल भइसकेको थिएँ।

Leave a Reply

Your email address will not be published.