प्रवेशिका परीक्षा तयारी अन्तिम चरणमा

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले विसं २०६९ को प्रवेशिका परीक्षा (एसएलसी)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रवेशिका परीक्षा आगामी चैत १ देखि ९ गतेसम्म हुँदैछ। परीक्षामा नियममिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल पाँचलाख ४७ हजार १६५ परीक्षार्थी सामेल हुँदैछन्। 
शिक्षा पत्रकार सञ्जालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार परीक्षाका लागि एकहजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी परीक्षा सञ्चालनका लागि एकहजार ७८६ केन्द्राध्यक्ष, दुईहजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सातहजार २९७ सहयोगी र १९ हजार ८६० सुरक्षाकर्मी परिचालन हुनेछन्।
परीक्षा नियन्त्रक खगराज बरालले सबै जिल्लाका सदरमुकाममा उत्तरपुस्तिका र ६९ जिल्ला सदरमुकाममा प्रश्नपत्र पुगिसकेको जानकारी दिँदै जिल्लालाई आवश्यक पर्ने परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशन पुस्तिका र खर्चको अख्तियारी जिल्ला शिक्षा कार्यालयमा पुगिसकेको बताए। यस पटकको सो परीक्षामा सबैभन्दा कम मनाङबाट ७८ र मुस्ताङबाट ११३ परीक्षार्थी समावेश हुँदैछन्।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिबिना प्रवेश गरेमा, अरुको तर्फबाट परीक्षा दिएमा रु एकलाखसम्म जरिवाना वा ६ महिनासम्म कैद हुनसक्ने व्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। शिक्षा पत्रकार सञ्जालका अध्यक्ष ईश्वर ढकालले परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन सञ्चार क्षेत्रबाट सहयोग पुर्‍याउने बताए। रासस

Leave a Reply

Your email address will not be published.