माग सम्बोधन नभएसम्म मोर्चा निर्वाचनमा नजाने

स्थानीय निकायको निर्वाचन गर्ने सरकारको प्रस्तावमाथि सत्ता साझेदार दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज छलफल भयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका-संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई सहमतिका साथ अघि बढाएर स्थानीय निकायको निर्वाचनमा जानेबारे दुवैपक्षबीच सकारात्मक कुराकानी भएको बताइएको छ।

यद्यपि, मोर्चाले भने संशोधन प्रस्तावले आफ्ना माग सम्बोधन गर्न नसकेको भन्दै त्यसलाई परिमार्जन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेको थियो। त्यसको जवाफमा सरकारका तर्फबाट ‘मोर्चाकै मागलाई सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव ल्याएकाले अहिले नै सबै कुराको समाधान खोज्नुभन्दा पनि जे जति विषयमा प्रस्ताव आएका छन्, त्यसलाई सकारात्मक रुपमा लिन’ आग्रह गरिएको थियो।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सचिव वर्षमान पुनले संविधान संशोधनसँगै स्थानीय तहको निर्वाचन गर्नेबारे गहन र सकारात्मक छलफल भएको बताए। उनले भने ‘संविधान संशोधनको प्रस्ताव दर्तापछि मोर्चाले जुन प्रतिक्रिया दियो त्यसमा सरकारको सहमति छैन। मोर्चाकै मागलाई सम्बोधन गर्न यो ल्याइएको हो। अहिले सरकारले जे प्रस्ताव ल्याएको छ, त्यसलाई स्वीकार्नुस्, त्यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, तर, मोर्चाको तर्फबाट हाम्रा एजेन्डा कम संशोधन भयो भन्ने कुरा राखे। यसमा दुवैपक्षबीच ‘हट’ र सकारात्मक कुराकानी भयो।’ आजको बैठकमा खासगरी संविधान संशोधनको प्रस्तावसँगै निर्वाचनमा जानेबारे कुराकानी भएको थियो ।

सचिव पुनका अनुसार प्रधानमन्त्री दाहालले संविधान संशोधनसँगै स्थानीय निकायको निर्वाचनबारे कसरी अघि बढ्ने भन्नेबारेमा मोर्चाको धारणा मागेका थिए। पुनले भने, ‘सरकारको विश्वास छ, अब मोर्चाले संशोधनलाई सकारात्मक रुपमा लिनेछ र मुलुक निर्वाचनतर्फ अघि बढ्नेछ।’

मोर्चाकातर्फबाट सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको प्रस्तावले मधेसी, आदिवासी, जनजातिलगायत सीमान्तकृत समुदायले उठाएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसक्ने कुरा जानकारी गराइएको बताए। ‘जबसम्म सङ्घीयता, समावेशीता, पहिचानलगायतका विषय संविधानमा रहेका त्रुटिहरुको सम्बोधन गरिँदैन तबसम्म निर्वाचनको कुरा गरिनुहुन्न’ भन्ने धारणा आफूहरुले राखेको उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेता सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published.