प्रादेशिक माघ महोत्सवको उद्‍घाटन मुख्यमन्त्रीले गर्ने

दाङमा हुन लागेको ५ नं. प्रदेशको प्रादेशिक महोत्सवको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु हुने भएको छ। थारू समुदायको ठूलो पर्व माघको अवसरमा थारू कल्याणकारीणी सभा दाङको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजनामा यहि पुस २६ र २७ गते दाङको घोराहीमा प्रादेशिक महोत्सव हुँदै छ।

थाकस दाङका जिल्ला सभापति भुवन चौधरीको अध्यक्षतामा आज घोराहीमा बसेको भेलाले माघ महोत्सवलाई भव्य रुपले सफल पार्नका लागि अर्थ संकलन उपसमिति, अतिथि सत्कार उपसमिति, विभिन्न १९ वटा उपसमिति गठन गरेको छ।

‘संस्कृतिको विकासमा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा योगदान’ भन्ने नारा सहित हुन लागेको महोत्सवमा प्रदेश नं. ५ को जिल्लासङ्गै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को कैलाली र कञ्चनपुर जिल्लालाई पनि सहभागी गराउने महोत्सवको मूल आयोजक समितीका संयोजक भुवन चौधरीले जानकारी दिए।

महोत्सवमा थारू समुदायको मौलिक मघौटा नाच, कला, संस्कृतिसङ्गै गैर थारू समुदायको झाकी पनि प्रस्तुत गरिने चौधरीले बताए। चौधरीका अनुसार महोत्सवमा थारू समुदायको परम्परागत थारू परिकार घोङी, ढिक्री, अन्डी चामलको भात, माछा, सुंगुरको मासु लगायतका खानपिनको पनि व्यवस्था गरिने छ।

साथै महोत्सवमा थारू समुदायको परम्परागत हस्तकला डेल्वा, ढकिया लगायतका सामग्रीहरु र थारू भाषाका पुस्तकहरु प्रदर्शनी एवम् विक्रीमा राखिने महोत्सव आयोजकका प्रवक्ता प्रकाश चौधरीले जानकारी दिए।

यस्तै महोत्सवमा थारू भाषा साहित्यको विकासमा राज्यको निति विषयक कार्यशाला गोष्ठी पनि गरिने संयोजक भुवन चौधरीले जानकारी दिए।

आजको भेलामा थाकसका जिल्ला सभापति भुवन चौधरी, प्राध्यापक केबि चौधरी, थारू महिला सभा दाङकी अध्यक्ष शान्ता चौधरी,महटावा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रशाद चौधरी लगाएतले बोलेका थिए। यसअघि पुस ५ गते बसेको भेलाले पुस २७ र २८ गते महोत्सव गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published.