गंगापरस्पुर ३ कटियान गाउँका ६५ वर्षीय जनकलाल चौधरीले मोहियानी हकका लागि भूमिसुधार कार्यालयमा तारेख बोक्न थालेको १२ वर्ष भइसक्यो तर अहिलेसम्म उनले हक पाएनन् । २ बिघा १७ कट्ठामा मोही रहेकोमा जग्गाधनी तयार नहुँदा जग्गा बाँडफाँड हुन सकेको छैन । उनले अझै न्याय पाउने आस मारेका छैनन् । ‘भूमिसुधार कार्यालयले मिलेर आउनुस् भन्छ । जग्गाधनीले मिल्ने कुरा गर्दैनन् । जग्गा दिनै मान्दैनन्,’ उनले भने, ‘कति वर्षसम्म तारेख धाउने हो, केही थाहा छैन । हैरान भइसक्यौं ।’ जग्गाधनीले मोहीलाई धम्क्याएर जग्गा आफ्नो हातमा पार्ने षड्यन्त्र गरिरहेको उनले बताए ।
अन्य मोही किसानको अवस्था पनि उस्तै छ । जग्गाधनीले जग्गा बाँड्नेभन्दा थर्काएर, फकाएर र धम्क्याएर जग्गा आफ्नै साथमा राख्ने प्रयास गर्दा मोही पीडित छन् । १२ बिघा जमिनमा मोही लागेका रामपुर ३ पलासेका ६१ वर्षीय जितराम चौधरी अहिलेसम्म भूमिहीन छन् । ‘दाइ ठाकुरामका नाममा मोहियानी हक थियो । जमिनदारले कुटपिट गरी धम्क्याएर हक लगाउन दिएनन्,’ उनले भने, ‘अधिकार खोज्दाखोज्दै दाइको मृत्यु भयो । आस गर्दागर्दै हाम्रो पनि जुनी बित्न थाल्यो ।’
रामपुर ३ पलाँसेकै बाँधु चौधरीले लामो समय स्वर्गद्वारी गुठीको जग्गा जोते । उनले गुठी जग्गा किसानका नाममा रैकर गर्न माग गर्दै आधा जीवन बिताए । तर अहिलेसम्म कुनै उपलब्धि हासिल गर्न सकेका छैनन् । चौधरीसँग स्वर्गद्वारी आश्रमको ३ बिघा ५ कट्ठा जग्गामा मोही भएको प्रमाण छ तर अहिलेसम्म जग्गा पाउने केही संकेत छैन । बेला १ मटेरियाका मन्साराम चौधरी र दयाराम यादव, लालमटिया ८ मसुरियाकी भठानी चौधरी र छेद्नी चौधरी पनि मोही जग्गा पाउने आसमा भूमिसुधार धाउन थालेको धेरै वर्ष भइसक्यो ।
सरकारले २०७३ भदौ ६ गते राजपत्रमा सूचना प्रकाशित गरी मोही लागेको जग्गा बाँडफाँड गरी लिन एक वर्षको म्याद दिएर निवेदन आहान गरेको छ । दुई वर्षभित्र जग्गावाल र मोहीबीच जग्गा बाँडपफाँड गर्ने म्याद दिएको छ । मोही किसानहरू जग्गा व्यवस्थापन माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । लामो आन्दोलनपछि सरकारले जग्गा बाँडफाँडको सूचना प्रकाशित गरे पनि किसान अझै जग्गा पाउनेमा विश्वस्त हुन सकेका छैनन् । ‘जग्गा जोतेर हाम्रा धेरै पुस्ता गए । आजसम्म हामीले जग्गामा अधिकार पाएका छैनौं,’ जिल्ला भूमिअधिकार मञ्चकी अध्यक्ष निर्मला विकले भनिन्, ‘मोही किसानलाई धम्क्याउने, जग्गा नदिने षड्यन्त्र भएको छ । यसले भूमिहीनको संख्या बढाइरहेको छ ।’
दाङमा व्यक्ति र गुठीका जग्गामा मोही छन् । जिल्लामा ६ हजार ८ सय ११ मोही किसान रहेको मञ्चले जानकारी दिएको छ । ६ हजार २ सय ५५ बिघा १३ कट्ठा १७ धुर जग्गामा मोही रहेकोमा हालसम्म १ सय ४७ बिघा ९ कट्ठा १० धुर जग्गा मात्र बाँडफाँड भएको छ । अझै ६ हजार ९ बिघा ४ कट्ठा ७ धुर जग्गा बाँडफाँड गर्न बाँकी रहेको मञ्चले जनाएको छ ।
जग्गा बाँडफाँडका क्रममा पनि जग्गा मोहीभन्दा धनीकै हातमा पर्ने गरेको भूमिअधिकार अभियन्ता भागीराम चौधरीले बताए । मोहीबापत किसानलाई केही रकम दिएर जग्गाधनीकै नाममा राख्ने क्रम बढिरहेको उनले बताए । भूमिसुधार मन्त्रालयको तथ्यांकअनुसार देशभर २२ हजार ९ सय ९५ बिघा जमिन बाँडफाँड भएकोमा मोहीले ८ हजार ९ सय ९५ बिघा मात्रै पाएका छन् भने धनीले १४ हजार बिघा पाएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार जग्गाबापत मोहीले २ अर्ब ७९ करोड ६८ लाख ७४ हजार १४ रुपैयाँ पाएका छन् भने धनीले ३८ करोड ७४ लाख ४० हजार २ सय ४० रुपैयाँ मात्र पाएका छन् । ‘अर्थात् जग्गाधनीभन्दा मोहीले पाएको रकम धेरै छ । यसको अर्थ हो धनीले जग्गा धेरै पाए, मोही पैसा पाएर जग्गाविहीन नै भए,’ चौधरीले भने, ‘भूमिहीनलाई जग्गा दिने योजना सफल भएन । जग्गा अन्तत: धनीकै हातमा पर्यो ।’
मन्त्रालयको तथ्यांकअनुसार देशभर मोहीको दाबी गरी १८ लाख १९ हजार ५४ किसानले निवेदन दिएकोमा १५ लाख ५५ हजार ९० जनाको मात्रै नाम प्रकाशन भएको थियो । यीमध्ये अन्त्यमा ४ लाख ६९ हजार ९ सय १७ जनाले मात्रै मोहीको प्रमाणपत्र पाए । अझै देशमा १ लाख १६ हजार ५५ मोहीले जग्गा पाउन सकेका छैनन् । मोही किसानका पक्षमा वकालत गर्दै आएका भूमिअभियन्ता शुभराम चौधरीका अनुसार प्रमाण पुग्ने जग्गा नभेटिने, मोही बसाइँसराइ गरी टाढा जाने, जग्गाधनी विदेश हुने या सम्पर्कमा नआउने, मोहीको मृत्युपछि हकवाला धेरै हुने र मोहीलाई लामो समय तारेख बोकाएर थकाउनेजस्ता समस्याले जग्गा बाँडफाँडमा समस्या भइरहेको छ ।
दुर्गालाल केसी/कान्तिपुर दैनिक