टीकापुरमै भयो थारु-पहाडी युवा-युवतीबीच विवाह

Resma Mahato And Babu Dewkota

दुलहा ब्राह्मण। दुलही आदिबासी थरुनी। दुई भिन्नै समुदायबीच सम्पन्न मागी विवाह धेरैका लागि अनौठो लाग्यो। भदौ ७ को घटनापछि पहाडी र थारू समुदायबीच सद्भाव बिग्रिएको ठानिन्छ। यो अवस्थामा ब्राह्मण र थारूबीचको  विवाह अनौठो लाग्नु स्वभाविकै हो।

तर, सबैका लागि अनौठो लागेपनि टीकापुरका २१ वर्षका बाबु देवकोटा र २७ वर्षकी रेश्मा महतोले स्वभाविक पारेका छन्। उनीहरूले पाँच वर्षदेखिको प्रेम सम्बन्धलाई मागी विवाहमा परिणत गरेका छन्।

टीकापुर–९, ब्लक नम्बर १६ का देवकोटा आइतबार बाजागाजासहित ब्लक नम्बर ११ की महतोका घर पुगेका थिए। दुलहाका साथीभाइ मात्रै होइन, ७२ वर्षका हजुरबुबा भक्तराज देवकोटासमेत जन्ती गए। कोट पाइन्टमा सजिएका जन्तीलाई लेहेङ्गामा सजिएकी थारू युवतीले स्वागत गरेकी थिइन्।

यो विवाहले दुलहा र दुलहीका परिवार निकै खुसी छन्। उनीहरूले छोराछोरीबीचको प्रेम सम्बन्धमा तगारो हाल्ने  प्रयत्न गरेनन्। उल्टै छोराछोरीको इच्छाअनुसार बाजा बजाएर बिहे गरिदिए।

दुहलाका बुबा टंकप्रसाद देवकोटाले छोराबुहारीको मन मिलेपछि आफूले कुनै बाधा नगरेको बताए। ‘सबैभन्दा ठूलो  कुरा उनीहरूको मन हो,’ उनले भने, ‘मन मिलेपछि हामीले स्वीकानैपर्छ।’

स्नातक तह अध्ययनरत दुलहाले अभिभावकलाई मनाउन सुरुमा गाह्रो भए पनि पछि सहज भएको बताए। उनले समाजमा व्याप्त जातीय विभेदलाई अन्त्य गर्नका लागि आफूले अन्तरजातीय बिहे गरेको बताए। ‘जात भन्ने हुँदैन। यो समाजको विकृति हो। यसलाई बदल्नु पर्छ,’ उनले भने, ‘जातभन्दा व्यवहार ठूलो कुरो हो।’ उनले रेश्माको जातभन्दा पनि व्यवहार मन परे र आकर्षित भएको बताए।

दुलहीका बुबा उपेन्द्र महतोले थारू-पहाडीबीचको विभेद अन्त्य गर्नका लागि छोरीको बिहे गरिदिएको बताए। उनले  थारू-पहाडी नभई सबै मानव जाति भएको बताए। ‘को थारू? को पहाडी? हामी सबै मानव हौं,’ उनले भने, ‘सबै  जातजाति एउटै मालामा गाँसिनुपर्छ।’

उनले टीकापुर घटनालाई दुःखद भन्दै आगामी दिनमा यस्ता गलत कार्य हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने बताए। मन मिलेको जीवनसाथी पाएकोमा दुलही पनि मख्ख छिन्। एमबीएससम्म अध्ययन गरेकी उनले आफूहरूको  विवाहले समाजमा सकारात्मक सन्देश दिने बताइन्। ‘यो सबैले बुझ्ने कुरा हो। यसले जातजातिबीचको दूरीलाई घटाउने छ,’ उनले भनिन्, ‘एउटै समाजमा बसेपछि दूरी हुनु राम्रो है न।’

उनले आफूहरूको विवाहलाई दुई समुदायको संस्कृतिको अन्तरघुलन भएको प्रतिक्रिया दिइन्। पन्डित भेषराज तिमिल्सैनाले जीवनमै पहिलोपटक नौलो बिहे गर्न पाएको बताए। उनले ब्राह्मण र थारू समुदायबीच मागी बिहे भएको यो नै पहिलो बिहे पनि हुनसक्ने बताए। ‘धेरै बिहे गराइयो। थारू समुदायका बिहे पनि गराए,’ उनले भने, ‘ब्राह्मण र थारूबीचको बिहे यो नै पहिलो हो।’

आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनापछि दुई समुदायमा देखिएको त्रास अझै हट्न सकेको छैन। एक समुदायले अर्को समुदायलाई विश्वास गर्ने वातावरण अझै बनिसकेको छैन। यस्तो अवस्थामा भएको ब्राह्मण र थारू समुदायबीचको मागी विवाहले सकारात्मक सन्देश दिने कतिपयको बुझाइ छ।

सञ्चारकर्मी बीपी अनमोल यस्ता क्रियाकलापले नै दुई समुदायबीचको दूरीलाई कम गर्दै लैजाने विश्वास व्यक्त गर्छन्। ‘यो कार्य समाजका लागि सन्देशमूलक छ,’ उनले भने, ‘युवापुस्ताले सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ।’

दुई समुदायबीच प्रेम विवाह भने यसअघि पनि हुने गरेका थिए। प्रेम विवाह गर्नेमध्ये थोरैको सम्बन्धलाई घरपरिवारले अस्वीकार गरे पनि धेरै जोडीहरू समाजमा स्थापित भएका छन्। जातीय विभेदले उनीहरूको सम्बन्धमा कुनै असर पारेको छैन।

योगेश रावल/नागरिक पश्चिमेली

Leave a Reply

Your email address will not be published.