सदावहार सौराहा

sauraha 2

अमृत भादगाउँले– परिवारसँग घुम्न आएका कोलकता भारतका प्रशान्त गोस्वामी शुक्रबार सौराहाको रंगीन माहोल देखेर चकित परे। जंगल सफारी गर्न आइपुगेका उनको गर्धनमा झुन्डिएको क्यामेराले फुर्सदै पाएन, खिचिक्क! खिचिक्क! खिचिक्क! फोटोग्राफी उनको रुचि। परम्परागत थारू पोसाकमा लोभिए। हात्तीका छावाको फुटबल खेल देखेर दंग परे। भन्दै थिए, ‘युनिक रहेछ सौराहा।’

क्षेत्रीय होटल संघ चितवनले शुक्रबारदेखि सौराहामा सुरु गरेको हात्ती महोत्सवमा नेपालीको भीड लागेको छ। क्रिसमस मनाउन आइपुगेका विदेशीको पनि ध्यान खिचेको छ।

sauraha 1

चितवनले हात्ती महोत्सवमार्फत औपचारिक रूपमा घुम्ने निम्तो बाँड्न थालेको ११ वर्ष भयो। महोत्सवको ११औं संस्करण चलिरहेको छ। माहुतेको इसारामा हात्ती दौडिन्छन्। जसले जित्छ उसले पुरस्कार पाउँछ।

महोत्सवमा हात्ती दौडमात्रै होइन, टाँगा र डुंगा दौड पनि हुन्छ। त्यतिमात्रै हो र, हात्ती सुन्दरी प्रतियोगिताका साथै हात्तीको वनभोज कार्यक्रम पनि हुन्छ। वनभोजमा हात्तीलाई मनपर्ने खुराक उखु, केरा, धान, स्याउ, काउली, बन्दा, गाजर र भेली खुवाइन्छ।

sauraha 5

बाघमारा सामुदायिक वनको चौरमा महोत्सव भइरहेको छ। महोत्सव सौराहाको ब्रान्ड बनिसकेको महोत्सव संयोजक सुमन घिमिरे बताउँछन्। विगतमा जंगल सफारीका लागि मात्र हात्तीको प्रयोग हुन्थ्यो। पछिल्लो समय प्रतियोगिता अनौठो इभेन्ट बन्दै गएको छ।

सरकारले चितवन राष्ट्रिय निकुञ्ज बनाएपछि ०३० सालमा सौराहामा पर्यटन सुरु भएको थियो। पर्यटनका दृष्टिले सौराहा भर्खर तन्नेरी भएको छ।

एक समय थियो, सौराहामा असारदेखि भदौसम्म सबै होटल/रेस्टुराँ बन्द हुन्थे। तर, ०५८ सालपछि वर्षैभर पर्यटक आउन थालेका छन्। हात्ती महोत्सवले नेपाली पर्यटक संख्या बढाएको व्यवसायीको अनुभव छ। अचेल बर्खामा समेत चिनियाँ आउने भएकाले वर्षैभरि चहलपहल हुन्छ।

sauraha 6

असोजदेखि पुससम्म र फागुनदेखि जेठसम्म सौराहा घुम्ने मुख्य सिजन। अफ सिजन मानिने पुसमाघमा समेत जंगल सफारी, बोटिङ, सांस्कृतिक कार्यक्रम हुन्छ। जंगलको खुला चौरमा झुन्ड–झुन्डमा घाम ताप्दै गरेका जनावर आँखा र क्यामेरामा कैद गर्न पाइन्छ। राप्ती किनारमा घाम ताप्दै गरेका गोहीको संख्या ठूलै हुन्छ।

जंगल सफारीमा एकसिंगे गैंडा, बाघ, मृग, रतुवा, जरायो, नीलगाई, बाघ, गैंडा, चराचुरुंगी अवलोकन गर्न पाइन्छ। सौराहाका व्यवसायीले बाघमारा सामुदायिक वनमा हात्ती सफारी गराउँछन्।

निकुञ्जमा हात्ती सफारी, जीप ड्राइभ र जंगल वाक गरिन्छ। गाइडविना जंगल वाक, बोटिङ गर्न पाइन्न। थारू संग्रहालय सौराहाको अर्को विशेषता। जहाँ थारू जनजीवन झल्काउने सामान सजाइएको छ। अर्को संग्रहालय छ, अखेटोपहार। जहाँ जीवजन्तु सजाइएको छ।

सौराहा एउटा पर्यटकीय बजार। निकुञ्ज बाहिर राप्ती किनारमा उत्तर–दक्षिण फैलेको बजार। त्यहीँ छन्, सयभन्दा बढी होटल, आधुनिक रेस्टुराँ, पब आदि। त्यहाँ एकैरात २७ सय जना बस्न सक्छन्।

राप्तीमा सूर्यास्तको रंगीन दृश्य देखिन्छ। साँझ अस्ताउँदो सूर्यलाई बिदाई गर्दै चियर्स गर्नेहरूको भीड लाग्छ। बजारका दुई सांस्कृतिक भवनमा साँझ थारू नृत्य र कला देखाइन्छ। केही होटलले आफ्नै आँगनमा देखाउँछन्।

sauraha 4

अचम्मको कुरा, सौराहामा ऊँट चढ्न पाइन्छ। नेचर गाइड केशव खनालले ऊँट सफारी गराउँछन्। फरक यति छ कि हात्तीमा जंगल घुमाइन्छ भने ऊँटमा बजार। ऊँटको जुरोमा गद्दी (हौदा) हुन्छ। त्यसमाथि यात्रु बस्छन्। माहुतेले डोर्यासउँछन्।

वाइल्ड लाइफ, थारू संस्कृति, सूर्यास्त र जैविक विविधता अध्ययनका लागि सौराहा। संघका अनुसार वर्षमा डेढ लाख पर्यटक आउँछन्। तिनमा ४० प्रतिशत नेपाली। नेपाली खर्चालु हुन्छन्। उनीहरू सामान्यतः एक रात बस्छन्। सौराहाको मज्जा लिन दुई रात चाहिन्छ।

आधुनिक सुविधायुक्त होटल। संसारभरका खानाको स्वाद पाइन्छ। मिठो दालभात पस्कने थकाली रेस्टुराँदेखि थारू परिकार पाइने भान्छासम्म दुःख छैन। सौराहामा प्याकेज किन्न पाइन्छ। करिब ७५ सय रुपैयाँ भयो भने काठमाडौंबाट ओहोरदोहोर गर्न र दुई रात बसेर जंगल घुम्न पुग्छ।

फर्कने बेला कोसेली ल्याउने चिज धेरै छन्। जनावरअंकित टिसर्ट, काठका गैंडा, माछा, बाँदर, हात्ती, घरबुना ढाकाका पछ्यौरी, रुमाल, ब्याग आदि।

sauraha 3

महोत्सव सौराहा घुम्ने राम्रो बहाना बन्न सक्छ। शुक्रबारबाट सुरु महोत्सव मंगलबारसम्म चल्नेछ। जाडोमा परिवारसँग सौराहा घुम्ने साइत जुराउने कि!

कसरी पुग्ने : काठमाडौं–सौराहा १ सय ६५ किलोमिटर। काठमाडौं कान्तिपथबाट बिहान ७ बजे पर्यटक बस छुट्छन्। तिनले ५ घन्टामा सौराहा पुर्याउँछन्।

नेपालीलाई स्वागत

सुमन घिमिरे

संयोजक, हात्ती महोत्सव

हात्ती महोत्सवले मानव र हात्तीबीचको सम्बन्ध नजिक्याउन सहयोग गरेको छ। हात्ती दौड हुने थलोका रूपमा संसारभर चितवनको नाम फैलेको छ। बर्सेनि आन्तरिक र बाह्य पर्यटक बढिरहेका छन्। हामी उत्साहित छौं। त्यसैले बर्सेनि महोत्सवमा हात्तीसम्बन्धी इभेन्ट थप्दै आएका छौं

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *