थरुहट विद्रोह दिवसको रुपमा अन्तरक्रिया

कारी महतो/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विद्रोह दिवसको रुपमा आज रत्ननगर नगरपालिका, डेबोलीमा रहेको क्षेत्र नं. ८ को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । आजकै दिन कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भैरहेको अवस्थामा टिकापुरमै केन्द्रीत हुनुपर्नेमा विभिन्न जिल्लाहरुमा भएको विद्रोह कार्र्यक्रमप्रति केहि सहभागीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । तर केहि सहभागीहरुले भने टिकापुरको थरुहट थारुवान राष्ट्रिय सम्मेलनले थारुहरुको मागमुद्दालाई निकास दिन नसक्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित थाकसका महामन्त्री प्रेमीलाल चौधरीले चितवनकै सौराहामा गत असारमा भएको राष्ट्रिय भेलाको निर्णय अनुसार नै थाकसले जिल्ला जिल्लामा थरुहट विद्रोह दिवस मनाएको बताए । विगत चार वर्ष अगाडि भदौ ७ गतेका दिन थरुहट थारुवान आन्दोलनको क्रममा कैलालीको टिकापुरमा आठ जनाको ज्यान गएको थियो । आन्दोलनको त्यसै दिनलाई स्मरण गर्दै थाकसले विद्रोह दिवसको रुपमा मनाएको हो । त्यसदिनको भएको घटनामा सुरक्षाकर्मीकै बन्दुकबाट निस्केको गोली लागी बालकको मृत्यु भएको थाकस महामन्त्री प्रेमीलाल चौधरीले बताए । घटना भए लगत्तै तत्कालीन गृृहमन्त्री बामदेव गौतमले संसदमा बोलेको कुरा स्मरण गर्दै भने– “त्यो घटना थारुहरुले घटाएको नभई दक्षिणबाट गाडीमा आएका एक हुल मानिसले घटाएका हुन् भनेर बामदेव गौतमले बताएका थिए । तर रेशम चौधरी लगायत निर्दोष थारुहरुलाई राज्यले जेलमा थुन्नुको तात्पर्य के हो ?”

कार्यक्रममा थाकसका पूर्व सचिव संजय चौधरीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारण पत्र प्रस्तुत गर्दै उनले थारुहरुलाई राज्यले राजनैतिक, भौगोलिक, सामाजिक, भाषिक, साँस्कृतिक, लैङ्गिक अधिकारबाट वञ्चित गरेकोले गोलबद्ध भई सशक्त ढंगले आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा थाकसका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरी, केन्द्रीय पार्सद हेमराज महतो, केन्द्रीय पार्सद लक्ष्मी चौधरी, सल्लाहकार जयचन्द्र चौधरी, निवर्तमान सभपति विश्राम महतो, थारु महिला सभा चितवनका अध्यक्ष धन्जु महतो, क्षेत्रीय सभापति भिम महतो, रामेश्वर चौधरी, क्षेत्रीय सचिव नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ९० बढी कार्यकर्ता एवम् सर्वसाधारणको उपस्थिति रहेको आयोजकले बताए । कार्यक्रम थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.