थाकस कोरियाद्वारा जलेश्वरलाई सहयोग

कोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ ।

थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा थाकस कोरियाका अध्यक्ष शिव चौधरीले जलेश्वरका बुबा सुकरा महतो र आमा मलुई महतोलाई उक्त नगद रकम हस्तान्तरण गरेका हुन् । साउदी अरबमा कामको सिलसिलामा दुर्घटना हुँदा साउदी सरकारले जलेश्वर चौधरीसँग ४५ लाख ब्लडमनि माग गरेको थियो । ब्लडमनिका ललागि सामाजिक स्वयंसेवक नेपाल मिसन चितवन नामक संस्था, थारु पत्रकार संघ चितवन लगायतका थुप्रै संघसंस्थाले आर्थिक संकलन अभियान चलाएका थिए ।

थाकस कोरिया आर्थिक अभावले पिडित भएका विभिन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने क्रममा सञ्जीत महतो राहत कोषलाई एक लाख पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको थियो । सञ्जीत महतो थरुहट आन्दोलन २०६५ का घाइते हुन् । त्यस्तै रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने रीमा थारुलाई एक लाख १ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ । बनगाई मावि कक्षा ९ मा अध्यनरत १४ वर्षीय रीमाको मुटुमा समस्या आएपछि थाकस कोरिया च्याप्टरले त्यहाँ कार्यरत थारुहरुसँग रकम संकलन गरी उपचारका निम्ति सहयोग गरेको थिए । उक्त रकम संस्थाका पूर्व अध्यक्ष पुष्प चौधरीले हस्तान्तरण गरेका थिए ।

साउदीमा दुवै मिर्गौला काम नलाग्ने भएर घर फर्केका खैरहनी नगरपालिका वडा नं. १ का हरेराम महतोको उपचारका लागि पनि थाकस कोरियाले ८० हजार सहयोग गरेका थिए । त्यसैगरी थाकस कोरियाले टीकापुर घटनाका पीडितहरुलाई पनि आर्थिक सहयोग गरेका थिए ।
चितवनको रत्ननगर–७, मैनाहा घर भई हाल दक्षिण कोरियामा कार्यरत थाकस कोरियाका अध्यक्ष शिव चौधरीका अनुसार थाकस कोरिया मार्फत् कोरियामा रहेका थारु दाजुभाईहरुले आर्जन गरेको केहि अंश समाजसेवामा लगाउने गरेका र दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published.