थारु पत्रकार संघको महाधिवेशन चितवनमा हुने, तयारी समिति गठन

चितवन।
थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ । गतवर्ष असोजमा दाङमा भएको केन्द्रीय भेलाबाट पाँचौ महाधिवेशन चितवन जिल्लामा आयोजना गर्ने निर्णय भएकोले उक्त महाधिवेशनको तयारी बारे चितवन शाखाले कचहेरी आयोजना गरेको हो । साउनदेखि मंसिरभित्र महाधिवेशनको संयोजन गर्नुपर्ने केन्द्रीय परिपत्र अनुसार आशन्न महाधिवेशन भाद्र २० र २१ गते आयोजना गर्नका लागि कचहेरीले केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि शाखा अध्यक्ष कारी महतोको संयोजकत्वमा ३१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गरिएको छ । कचहेरीबाट केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार सन्तकुमार चौधरीको संयोजकत्वमा आर्थिक समिति, प्रदेश इन्चार्ज तथा जिल्ला सल्लाहकार राजु चौधरीको संयोजकत्वमा समन्वय समिति, उपाध्यक्ष सुमित्रा महतोको संयोजकत्वमा प्रतिनिधि/पर्यवेक्षक व्यवस्थापन समिति, जिल्ला सदस्य राकेश चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन समिति लगायत १२ वटा कार्यगत समिति समेत गठन भएको छ ।

शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट माध्यमिक तहको गणित विषयमा स्थायी हुन सफल भएकोमा थारु पत्रकार संघ चितवन शाखाका सचिव मनिराम थनेतलाई कचहेरीमा बधाई पत्रबाट सम्मान गरिएको छ ।

थारु कल्याणकारिणी सभा चितवनको सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कचहेरीको उदघाटन सत्रमा विशिष्ट अतिथि मनोज कुमार चौधरी, हेमा कुमारी चौधरी, राजु चौधरी, चन्द्र कुमारी चौधरी, शरद कुमार महतो, दिपेश चौधरी, सुमित्रा महतो, मनिराम थनेतले मन्तव्य व्यक्त गरेका थिए । कचहेरी थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.