एमाओवादी मोर्चा गच्छदारले छोड्लान्?

Bijay Gachhdar

‘कुनै पनि बेला मोर्चा छाडेर सरकारमा जान सक्ने’ भनि आरोप खेपिरहेका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । पार्टीको बैठकमा अध्यक्ष गच्छदारले मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण त्यहाँ बस्न मन नभएको धारणा बैठकमा राखेको स्रोतले जनाएको छ ।

मार्चाको बैठकहरुमा मधेशका नेताहरुले व्यग्यं गरी होच्याउने गरेको गुनासो गर्दै अध्यक्ष गच्छदारले त्यस्ता नेताको भीडमा आफूलाई बस्न मन नलागेका धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

‘आफूले मधेश र देशकै हितका लागि ठूला दलका नेताहरुलाई भेट्ने गरेको छु, मेरा त्यसमा केही स्वार्थ छैन तर मधेशी दलका नेताहरु अनावश्यक टिका टिप्पणी गरेर मलाई र मेरो पार्टीलाई बदनाम गराउने कोशिस गरिरहेका हुन्छन्, दुई दिनदेखि जारी बुधवारको बैठकमा गच्छदारको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सहमति र सहकार्यका लागि भेट्दैमा पहाड त खस्दैनन नि तर अनावश्यक व्यंग्य गरिरहेका हुन्छन् ।’

उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीको नामै लिएर यो कुराहरु पार्टीमा भनेका थिए । मधेशवादी दलका नेताहरुको कसको हैसियत कति छ भने कुरा आफूलाई सबै थाहा रहेको बताउँदै उनले मोर्चालाई आज यो स्थानमा पुर्याउने काम आफूले गरेको बताए ।

‘आज मोर्चाको नाममा कसैले बोलिररहेका छन्, धाक देखाई रहेका छन् ती सबै मेरै कारणले हो,’ उनले भने, ‘ती नेताहरुमध्ये कसैले पनि ठूला नेताको सामु बोल्न सक्दैनन् जहाँ पनि मैले बोल्नुपर्छ जवाफ दिनुपर्छ तर म एकदिन कसैसँग छुट्टै भेटे कुरा गरे भने उनीहरुलाई अपाच्य हुन्छ ।’

केही समयअघि शीर्ष नेताहरुको बैठकमा आफूले प्रस्तुत गरेको प्रस्तावलाई अस्वीकार गरेकोमा पनि गच्छदारले असन्तुष्टि पोखेका थिए । ‘विजय कुमार गच्छदार के चिज हो भने कुरा हरेक नेतालाई थाह छ, आजसम्म मैले राजनीतिकमा खेलेको भूमिका सबैको सामु छर्लगं छ,’ आफ्ना नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हेर्दै जानु होला मैले जे प्रस्ताव ल्याएको छु अन्ततः सबैले त्यसैलाई मानेर अगाडि बढ्छन् । अहिले मेरो प्रस्तावलाई कतिपय नेताले खिल्ली उडाएका छन् । व्यंग्य गरेका छन् तर भोलीको दिनमा त्यसैले मानेर अगाडि बढेन भने मलाई भन्नुहोला ।’

३० दलीय मोर्चामा ३० वटा भिन्न भिन्न विचार छन्, कसैले कसैलाई स्वीकार्ने पक्षमा नरहेको भन्दै त्यहाँ बस्ने इच्छा नभएको भन्दै उनले आफ्ना दलका नेताहरुलाई यस विषयमा सोच्न आग्रह गरे ।

एक नेताका अनुसार गच्छदारले यस्तो कुरा राखेपनि कसैले पनि मोर्चा छाड्न सुझाव दिएका छैनन् । बरु मोर्चामा त्यस्ता टिक्का टिप्पणी गर्नेलाई जवाफ दिनुपर्ने, साइड लगाउनुपर्ने तर मोर्चा छाड्नु नहुने भनि सुझाव दिएका छन् । अहिलेको अवस्थामा मोर्चा छाडियो भने नराम्रो सन्देश जाने भएकाले मोर्चा नछाड्ने बरु त्यही संघर्ष गर्ने र मधेश र देशका हितमा हुने हरेक गतिविधिमा सहभागि हुने सुझाव दिएको स्रोतले जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा अहिले बैठक जारी छ । उनले गरेको प्रस्तावको विषयमा आज कुनै निर्णय हुने स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष महतोबीच भएको विवादका कारण मधेशी मोर्चाले एमाले सहभागी कुनै पनि वार्तामा सहभागी नहुने निर्णय गरेका थिए तर अध्यक्ष गच्छदार दिनदिनै अध्यक्ष ओली सहभागी भएको वार्ताहरुमा सहभागी हुँदै आएका थिए । त्यसको निकै आलोचनाहरु भएको थियो । पछि माघ ८ गते गच्छदारले मोर्चामा कुनै सल्लाह नै नगरिकन काँग्रेस र एमाले समक्ष प्रस्ताव गरेका थिए । प्रस्ताव एमाले र काँग्रेसले मानेका पनि थिए तर मोर्चामा हितमा नभएको कारण त्यो मोर्चाको तर्फबाट अस्वीकार भएको थियो । यो विषयमा पनि निकै आलोचना भएको थियो । गच्छदारसँग सम्बन्धित यी विषयहरु मधेशवादी दलका नेताहरु बैठकहरुमा उठाउँदै आएका थिए । त्यही कुरा लिएर अध्यक्ष गच्छदारको चित्त दुःखेको छ ।

गच्छदारले मोर्चा छाडेर सरकारमा जाने प्रस्ताव गर्नु भएको हो भनि जिज्ञासा राख्दा फोरम लोकतान्त्रिकका प्रवक्ता तथा महासचिव रामजनम चौधरीले पार्टीभित्र त्यस किसिमको कुनै कुरा नै नभएको प्रतिकृया दिए । ३० दलीय मोर्चाले तय गरेको आन्दोलनलाई कसरी सफल पार्ने विषयमा छलफल शुरु भएको बताउँदै त्यसलाई कसरी सफल पार्ने कार्यकर्ता तथा जिल्ला कमिटीहरुलाई कसरी परिचालन गर्ने विषयमा छलफल भएको बताए ।

उनले पार्टीभित्र उठ्दै नउठेको कुरालाई लिएर केही मधेशवादी दलका नेताहरुले आफ्ना पार्टीका अध्यक्षलाई बदनाम गराउने प्रयास गरेको आरोप लगाए । आफ्नो अध्यक्षको पहुँच र व्यक्तित्वका कारण कतिपय नेताहरुलाई अपाच्य भएको त्यसलाई सहन नसकेर पार्टीलाई बदनाम गराउन खोजेको आरोप उनले लगाए । पार्टी आन्दोलनमा लागेको छ, बजारमा के हल्ला छ के चर्चा छ त्यतातिर कुनै ध्यान नदिएको पनि उनले बताए ।

रातोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published.