थरुहट आन्दोलनका जिउँदा सहिद सन्जित राहत कोषले हस्तान्तरण गर्‍यो साढे पाँच लाख सहयोग

थरुहट आन्दोलनका जिउँदा सहिदले चिनिएका चितवन रत्ननगर–७ सिसुवारका सन्जित महतोलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सन्जितलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘सन्जित महतो राहत कोष’ले शनिबार सौराहास्थित होटल पार्क इनमा एक कार्यक्रमकाबीच हिसाब सार्वजनिक गर्नुको साथै सहयोग स्वरुप संकलन भएको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी र राहत कोषका संयोजक शरदकुमार महतोले पाँच लाख ४७ हजार रुपैयाँ सन्जित महतोलाई हस्तान्तरण गरे ।

सन्जितको सहयोगका लागि राहत कोषले गरेको सहयोग संकलनको सम्पूर्ण आम्दानी खर्च विवरण गरेका थिए । सन्जितको सहयोगका लागि राहत कोषले थारु चलचित्र च्यारिटी शो गर्नुको साथै सहयोग संकलन अभियान थालेको थियो । सो क्रममा देश तथा विदेशबाट सन्जितका लागि सहयोग जुटेको थियो ।

संयोजक महतोले सन्जितलाई जिविकोपार्जनका लागि सहज होस् भन्ने उद्देश्यले २०७४ साउन २१ गते राहत कोष स्थापना गरेको जानकारी दिए । उनले राहत कोष समिति मार्फत नै सन्जितको खुट्टाको उपचार गरेको बताए । सन्जितको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले निःशुल्क उपचार गरेको थियो । बैशाखीमा हिड्न समेत कठिन अवस्थामा रहेका सन्जित अहिले उपचार पछि बैशाखी विना नै सहज रुपमा हिडडुल गर्न सक्ने भएका छन् ।
११ वर्ष अघि २०६५ सालमा थरुहट आन्दोलनको क्रममा सौराहा चोकमा प्रहरीको गोली लागेर सन्जित घाईते भएका थिए । सरकारको तर्फबाट एक पटक मात्रै काठमाडौंमा उपचार गराएका सन्जित आर्थिक अभावका कारण उपचार गराउन सकेका थिएनन् । खुट्टाबाट निरन्तर फोहार पदार्थ बगेपछि उनी हिड्न नसक्ने अवस्थामा थिए । राहत कोषको पहलमा चिकित्सक प्रमोद लामिछानेले निःशुल्क उपचार गरेपछि अहिले सन्जित बैशाखी बिना नै हिडडुल गर्न सक्ने भएका छन् ।

सो क्रममा सन्जित महतोले आफ्नो उपचारमा खटिने सबैमा धन्यवाद ज्ञापन गरे । अहिले आफू बैशाखी बिना नै हिडडुल गर्न सक्ने भएकोमा खुशी व्यक्त गरे ।

राहत कोषले सन्जितलाई सहज बसोबासका लागि घर निर्माणको प्रयास थालेको थियो । तर विभिन्न कारणले उनको तत्काल घर बनाउन नसकिएको संयोजक महतोले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललित चौधरीले सन्जित महतोको सहयोगका लागि सबै मिलेर हातेमालो गर्दै अभियानको रुपमा अघि बढ्नुपर्ने बताए । उनले सन्जितको उपचारदेखि जिविकोपार्जनका लागि राहत कोषले गरेको कार्यको प्रशंसा गर्दै थाकसको तर्फबाट पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सन्जितको एक मात्र छोराको शिक्षाका लागि पनि सहयोगको लागि आवश्यक रहेको भन्दै सबै मिलेर सन्जितलाई सहयोग गर्नुपर्ने बताए । उनले ज्यूदो सहिदको रुपमा सन्जित रहेकोले राज्यले पनि उसलाई फरक किसिमले हेर्नुपर्ने बताए ।

रत्ननगर वडा नं.७ का अध्यक्ष लालबहादुर भट्ट (राजन)ले प्रदेश सरकारले ल्याउन लागेको घुम्ती पसल सहयोगको पहिलो प्राथमिकतामा ज्यूदो सहिदको रुपमा रहेको सन्जित महतोलाई राखिने प्रतिवद्धता जनाए । उनले महतोलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरे । उनले सार्वजनिक जग्गा भएकाले केही स्थानमा घर बनाउन समस्या भएकोले जग्गाको छनौट पछि सन्जितको घर बनाउन पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो क्रममा बोल्दै वडा नं.५ का अध्यक्ष कृष्ण महतोले थरुहट आन्दोलनलाई स्मरण गर्दै सन्जित महतोको सहयोगका लागि सबै जुट्नुपर्ने बताए । उनले पनि सन्जितको घर निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थाकसकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, चिकित्कद्धय डा.प्रमोद लामिछाने, डा.बिएम खरेल, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, थरुहट आन्दोलनका घाईते सन्जित महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राहत कोषका संयोजक शरद कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो क्रममा ‘सन्जित महतो राहत कोष’ले एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक दम्पति डा.प्रमोद लामिछाने र डा.बिएम खरेललाई सम्मान गरेको छ । चिकित्सक दम्पति लामिछाने र खरेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी र राहत कोषका संयोजक शरद कुमार महतोले चिकित्सक दम्पतिलाई सम्मान गरे ।

Leave a Reply

Your email address will not be published.