छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी

सन्तोष दहित/घोराही।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायले सदियो वर्षदेखि शारीरिक श्रम गरेकै कारणले पछि परेको बताए । उनले अब शारीरिक श्रम गरेरमात्र हाम्रो जीवनयापनमा सुधार नआउने भन्दै आफ्नो जीवन स्तरलाई परिवर्तन गर्नलाई ज्ञानको श्रममा लाग्न चौधरीले अनुरोध गरे । उनले भने, ‘हामीले हलो जोत्न, खेत, बारी खन्न, भारी बोक्न तयार हुन्छौं । तर, हामीले किताब पढ्ने, ज्ञानगुनका कुरा सिक्ने, नयाँ नयाँ अध्यन गर्नमा कुन्जुसाई गर्छाै, त्यही भएर हामी पछाडि परिरहको छौं ।’

थारु समुदायका बालबालिकाहरु कक्षा १० सम्म पढ्ने र बीचैमा छाड्ने गर्छन् । अब सबैका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कम्तीमा पनि बीएसम्म पढाउनमा ध्यान दिनुपर्ने उनले बताए । थारु समुदायहरु शिक्षाकै कारण पछि परेको बताउँदै उनले थारु कल्याणकारिणी सभा दाङले सबै अभिभावकहरुलई सचेत गराई थारु समुदायका बालबालिकाहरुलाई शिक्षामा केन्द्रीत गर्नुपर्ने बताए । अबको समयमा सबैभन्दा ठूलो शक्ति शिक्षा भएको बताउँदै उनले शिक्षालाई प्राथम्कितामा राखेर पढेलेखेका युवाहरु व्यवसायीक क्षेत्रम लाग्नुपर्ने बताए । सबैले जागिरको कुरा गर्नुहुन्छ, जागिर सबैथोक होइन, आर्थिक समिृद्धको लागि सबैभन्दा ठूलो व्यापार, व्यवसाय रहेकाले थारु समुदायलाई व्यवसायमा लाग्न उनको अनुरोध थियो ।

जेष्ठ नागरिक बेझलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपिराम चौधरी, थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद सन्तोष दहित, थारु विद्यार्थी समाजका पूर्व अध्यक्षद्धय केवि चौधरी, विकास चौधरी, थाकस दाङका सचिव प्रकाश चौधरी, जिल्ला सदस्य अशोक चौधरी, महट्वा लक्ष्मीमान चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.