अदालतको फैसलामा सरकार केही गर्न सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्।

अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए।

बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- समर्थन फिर्ता लिनु पर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो।

भिडियो हेर्नुस्:

‘अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने? जो उचित होइन। सरकारले गर्ने जति काम गरेको छ। उहाँहरूसँग कुनै सम्झौता गरेर तोडिएको त होइन। सरकारको तर्फबाट सक्दो गरिएको हो,’ प्रधानमन्त्रीले भने, ‘उपचार खर्च दिएन कि। जेलबाट छुटाइएन कि। बाँकी वक्यौता कहिले कहिलेका हुन् तिरिएन की! सपथ ग्रहण नगराएकालाई गराइएन की सबै त गरेको छ।’

राजपा नेताहरुलाई सुरक्षा र सम्मानसमेत दिएको प्रधानमन्त्रीले बताए। ‘उहाँहरुलाई सुरक्षा सम्मान दिइएन कि त्यो पनि गरेकै छ,’ प्रधानमन्त्री ओलीले भने।

अदालतले तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम गरेकोले रेशम चौधरीका बारेमा सरकारले केही गर्न नसकेको उनको भनाइ छ।

‘स्वतन्त्र न्यायालयले तथ्य प्रमाणका आधारमा कानूनबमोजिम फैसला गर्‍यो। त्यो सरकारका हातमा हुने कुरा होइन। अब उहाँहरुले सरकारका विरुद्ध धेरै आरोपहरु, थोत्रा पुराना खिया लागेका, मक्काएका, पात झरेका, जरा सुकेका डाक्ला सुकेका अनेक प्रकारका आरोपहरुसहितको एउटा फेहरिस्त आरोप पत्र सिर्जना गर्नुभएको छ। सम्झिएजति र समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘समर्थन फिर्ता लिनुपर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। खुसीको कुरा हो। कसैले समर्थन गर्न नि पाइन्छ फिर्ता लिन नि पाइन्छ। जबरजस्ती गर्न सकिन्न।’

Leave a Reply

Your email address will not be published.