#कविता: रेशमलाल बिचल्लित नबन

कुङ्बा कान्छा

रेशमलाल
बिचल्लीत नबन
तानाशाहको हत्कडी
जतिनै मजबुत भए पनि
जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन।

तिमी दबाइएको त्यो आवाज हौ
जो सडकमा तत्काल बुलन्द बन्न सक्छौ
तिमी अस्तित्वको त्यो शक्ति हौ
जस्लाई तानाशाही प्रहारले कहिल्यै ढाल्न सक्दैन
तिमी भित्र उत्पीडित बर्गको आवाज छ
राज्यले ओझेलामा पारेको बर्गको आशा छ
तिम्रो यहि सत्य देखि डराएर
यो शासक
फलामे साङ्लोले
तिम्रो भौतिक शरीरलाई बाँध्ने यत्न गरिरहेछ।

रेशमलाल
तिम्रो हातको हत्कडिले
सिर्फ तिमीलाई मात्र बाँधिरहेको छैन
पूर्व–पश्चिम, उत्तर–दक्षिणको
समग्र पहिचानको आवाजलाई
पहिचानको कदमहरुलाई
बाँध्ने कोसिस गरिरहेछ
डराउने, तर्साउने, धम्काउने चेष्टा गरिरहेछ
दबाउने, मेटाउने, भगाउने दुस्साहस गरिरहेछ
र त आज म तिम्रो पक्षमा उभिएको छु
तिमी एक्लै छैनौं रेशमलाल
मेरो आवाज तिमीसँग छ
मेरो साथ तिमीसँग छ
म जस्तै लाखौंको साथ तिमीसँग छ।

यो राज्यले
यो शासकले
तिम्रो बिरोधमा बोल्ने सबैले
थारु साथी तिमीलाई
हलि, गोठालो, कमैया र कम्लारी मात्र बनेको देख्न चाहन्छ
अब आफै भन के गर्छौ तिमी?
यहि सासकको दासी बन्छौ?
त्यही बिरोधिको बोलीदेखि डराउँछौ?
या आफ्नो अस्तित्वको बचाउ गर्छौ?
आफ्नो पहिचानको स्वरुप खोज्छौ?
यति बेला तिमी निर्णयको संघारमा छौं
दासी बनेरै बाँच्छौ भने
बिरोधसँग डराएरै बाँच्चौ भने
ठिकै छ तिम्रै विचार
नत्र भने यो घडिमा टिकापुरले
बुलन्द आवाज बोकेर
आकाश छिचोल्ने चित्कार लिएर
फेरि एक पटक जाग्नु पर्छ
जुर्मुराउनु पर्छ, सल्बलाउनु पर्छ
आँधिबेहरी, कम्पन, पराकम्पन ल्याउनु पर्छ।

यो पल त्यो हत्कडी भित्र
सिर्फ रेशमलाल मात्र छैन
जस्ले, सिंगो थारुहरुलाई जकडेको छ
थारु अस्तित्व र पहिचानको आवाजलाई बाँधेको छ।
पैंतीस हजार जनमतलाई बन्दी बनाएको छ।
थारु मित्र तिमीलाई
यो राज्यले
यो शासकले
तिम्रै माटोमा
थारु भएर बाँचेको
थारु भएर हाँसेको देख्न चाहँदैन
र त अनेक वहानामा
तिम्रो आवाजलाई दबाउने यत्न गरिरहेछ।

रेशमलाल
तर तिमी बिचल्लित नबन
तानाशाहको हत्कडी
जतिनै मज्बुत भए पनि
जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन
तिमी दबाइएको त्यो आवाज हौ
जो सडकमा तत्काल बुलन्द बन्न सक्छौ
तिमी अस्तित्व त्यो शक्ति हौ
जसलाई तानाशाही प्रहारले कहिल्यै ढाल्न सक्दैन।।

Leave a Reply

Your email address will not be published.