टीकापुर घटनाको फैसला ‘दुर्भाग्यपूर्ण’ : सुरेन्द्र चौधरी

थारु अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर घटनाबारे कैलाली जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले सरकारले लुकाएका विभिन्न प्रतिवेदनमा सम्पूर्ण थारुहरु निर्दोष रहेको बताउँदै ती प्रतिवेदनहरु सार्वजनिक गर्न मागसमेत गरेका छन्। प्रतिवेदनमा कैद सजाय भोगिरहेका र फरार भनिएका सबै थारुहरु निर्दोष रहेको उल्लेख हुँदाहुँदै के आधारमा अदालतले यस्तो फैसला गरेको भन्दै उनले फैसलाको कडा आलोचना गरेका छन्।

‘गरिश चन्द्र लाललगायत विभिन्न प्रतिवेदनहरु सरकारले लुकाएको छ। थारुहरु निर्दोष भनिएका ती प्रतिवेदनहरु किन सार्वजनिक गरिँदैन? अनि के आधारमा रेशम चौधरीहरुलाई जन्मकैद सजाय सुनाइयो? अदालतको यो फैसलाविरुद्ध उत्पीडनमा परेका आम समुदायहरु एकजुट हुन जरुरी छ,’ उनले भने।

जिल्ला अदालतले पक्षपाती फैसला गरेपनि अब उच्च अदालत र सर्वोच्च अदालत जाने ठाउँ बाँकी रहेको उनले बताए। ‘थारुहरु अहिल्यै हरेस खाँदैन। उच्च अदालत हुँदै सर्वोच्चसम्म पुग्छ। त्यति गर्दा पनि सरकारले थारुहरुमाथि अन्याय गरे नेपाली नागरिकता फिर्ता गर्ने अभियान सुरु हुन्छ,’ उनले भने।

उनले एकिदन सत्यको जित अवश्य हुन्छ भन्दै संयमित भएर काम गर्न आम थारुहरुलाई आह्वानसमेत गरेका छन्।’साशकीय शक्तिले केही समयको लागि दमन गर्न सक्ला तर न्यायसंगत आवाजका कारक तत्वलाई सत्यले पनि मार्न सक्दैन। विगत तीन वर्षदेखि गैरकानुनी रूप ले कैलाली जेलभित्र यातनापूर्ण अवस्थामा बन्दी बनाइएका थारु योद्धा तथा समाजिक न्याय र राजनीतिक अधिकारको लडाइँका नायकहरुको विजय एकदिन अवश्य हुनेछ,’ उनले भने। 

उनले थारुको शान्तिपूर्ण संघर्ष निरन्तर जारी रहने बताउँदै यो लडाइँ कुनै समुदाय विशेषको नभएर सामाजिक न्याय र राजनीतिक लडाइँ भएको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published.