प्रहरीद्वारा थारु महिलामाथि कुटपिट, दुई महिलासहित ६ जना पक्राउ

जितपुर-सिमरा उपमहानगरपालिका १४ को रजघट्टामा प्रहरीले थारु महिलामाथि कुटपिट गरेका छन्। सहमति विपरीत आफ्नो बालीमा डोजर चलाएको भन्दै स्थानीयहरु किसानहरु न्याय माग्न वडा कार्यालय पुगेका थिए। न्याय नदिएसम्म उनीहरुले वडाअध्यक्षलाई पनि कार्यालयमै थुनेका थिए। सोही क्रममा प्रहरीले स्थानीय महिलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट कम्ती १० जना महिला घाइते भएको प्रत्यक्षदर्शी गणेश चौधरीले जानकारी दिए। उनका अनुसार प्रहरीले महिलाको लुगा च्यातिनेगरी कुटपिट गरेका थिए। झडपपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जसमा दुई जना महिला छन्।

सरकारले वीरगन्ज चिनी मिलको जग्गामा सेज निर्माण गर्ने निर्णय गरेपनि स्थानीय थारुहरुले आफ्नो जग्गा फिर्ता गर्न सरकारलाई अल्टिमेटम दिँदै आएका छन्। तत्कालीन महेन्द्र सरकारले चिनी मिलको लागि आफूहरुको जग्गा लिएको र हाल बन्द भएको अवस्थामा सो जग्गामा आफूहरुको हक लाग्ने किसानहरुले बताउँदै आएका छन्।

जग्गा प्राप्ती ऐन २०३४ को दफा ३४ को उपदफा १,२,३ र ४ ले जुन प्रायोजनका निम्ति जग्गा लिइएको हो सो कार्य नगरिए जग्गाधनीलाई जग्गा फिर्ता गर्नुपर्ने उल्लेख छ। सोही ऐनबमोजित उक्त जग्गा फिर्ता गर्नुपर्ने माग थारुहरुको छ। जसको लागि संघर्ष समिति पनि बनाइएको छ। संघर्ष समिति र सेज निर्माण कम्पनीबीच समस्या समाधान नभएसम्म कुनै कार्य नगर्ने सहमति भएको थियो। तर उक्त कम्पनीले एक्कासी डोजर चलाएपछि बाली लगाएका किसानहरु आक्रोशित बनेका हुन्।

प्रहरीले आज बिहानै संघर्ष समितिका संयोजक मेहिलाल चौधरीलाई पक्राउ गरेपछि स्थानीय किसानहरु झनै आक्रोशित बनेका थिए। उनीहरुले वडा १४ का वडाध्यक्ष रामशरण बर्तौलालाई दिनभरि कार्यालयमै थुनेर समस्याको समाधान गर्न दबाब दिएका थिए। तर प्रहरीले हस्तक्षे गरेर वडाध्यक्षलाई लग्नुको साथै स्थानीय महिलाहरुमाथि दुर्व्यवहार गरेको थियो।

यस विषयमा जिल्ला प्रशासन कार्यालय बारा र जितपुर सिमरा उपमहानगरले केही बोलेको छैन।

Leave a Reply

Your email address will not be published.