खिचरा महोत्सवमा सिडियो र एसपीले लिए थारु खानाको स्वाद

कारी महतो/चितवन।
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् ।

उनीहरुले महोत्सव परिसरमा राखिएका सबै स्टलहरुको अवलोकन गरी थारु खानाका स्वाद समेत लिएका छन् । उनीहरुले खिचरा पर्वमा थारु समुदायले विशेष परिकारको रुपमा खाने चिचरको पोका, घोंङ्गीलगायतका थारु खानाका परिकारहरुको स्वाद लिएका छन् । प्रजिअ बस्नेतले थारु मिनि गाउँमा रहेको थारु जातिका परम्परागत लोपोन्मुख सामग्रीहरुलाई विशेष चासो दिएर हेरेका थिए । मिनि संग्रहालयमा थारु जातिका सीपको प्रयोगबाट बनाइएको परम्परागत घरेलु सामग्री राखिएको छ । संग्रहालयमा मोरी, घौका, कोइनी, डेली, डुहुरी, धेवरीं, झाँझाँ, कहुला लगायत सयौं किसिमका सामग्रीहरु प्रदर्शन गरिएको छ ।

यसैगरी खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पनि महोत्सव अवलोकन गरेका छन् । आज खिचरा महोत्सव आयोजकले इलाका प्रहरी खैरहनीबाट अन्यत्र सरुवा भई गएका प्रहरी निरिक्षक कैलाश विष्टलाई विदाई र प्रहरी निरिक्षक धनदेव साउतलाई स्वागत गरेका छन् । नगरप्रमुख चौधरीले प्रहरी निरिक्षकहरुलाई मुणेठा र सम्मान पत्र प्रदान गर्नुभयो ।

पुस २८ देखि शुरु भएको खिचरा महोत्सवको चौथो दिन आज महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । आज एकैदिनमा करीब ६० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएका छन् । महोत्सव माघ ७ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published.