कैलाली करागारमा रहेका लक्ष्मण थारु बिरामी

टीकापुर घटना मुद्दामा पुर्पक्षको लागि कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारु बिरामी परेका छन्। बिहीबार रातिबाट टाउको, कान र छाति दुख्ने समस्याले ग्रस्त भएका नेता थारुको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रबार अस्पताल लगिएको थियो।

कैलाली कारागारका प्रमुख महेन्द्र खड्काका अनुसार नेता थारुलाई सुरुमा सेती अञ्चल अस्पताल लगिएको थियो। पछि उनका आफन्तजनको आग्रहमा धनगढीकै जनता क्लिनिकमा लगिएको कागारार प्रमुख खड्काले बताए। स्वास्थ्य जाँचपछि उनलाई कारागार फिर्ता गरिएको थियो।

तर साँझ ६ बजे पुनः उनको अवस्था बिग्रन थालेपछि कारागारकै डाक्टरको सल्लाहअनुसार औषधि चलाइएको छ। तत्काल अस्पताल लगिने अवस्था नरहेपनि भोलि (शनिबार) पुनः अस्पताल लगिने कारागार प्रमुख खड्काले जानकारी दिए।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । तर उनीहरुको मुद्दा अझै किनारा लाग्न सकेको छैन।

Leave a Reply

Your email address will not be published.