चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)।

कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा मंसिर ६ गतेदेखि सुरु हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतियोगिता हुने लागेको हो ।

‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार’ भन्ने प्रमुख नारालाई अवलम्बन गर्दै थारु कल्चरलाई उजागार गर्न थारु नृत्य प्रतियोगितालाई प्राथमिकता दिएको महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताए । नृत्य प्रतियोगिताद्वारा थारु पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने महोत्सव संयोजक व्यापार संघ कपिलवस्तुका अध्यक्ष पोखरेलको विश्वास छ ।

मेला महोत्सवमा थारु कला संस्कृतिलाई उजागार गर्न स्थान दिएकोमा थारु युवा पुस्तामा खुशियाली छाएको छ । प्रतियोगिताले थारु समुदायमा लुकेर रहेको प्रतिभा तथा लोप हुँदै गइरहेको भाषा, कला, संस्कृति जर्गेनामा थप मदत पुग्ने थारु अगुवाहरुको विश्वास छ । ठूलो स्टेजमै आफ्नो कला, संस्कृति, भेषभुषा झल्किने किसिमको प्रस्तुति देखाउन पाउँदा युवा पुस्तामा अझ उर्जा थपिएको थारु राष्ट्रिय कलाकार संघ शिवराज नगर अध्यक्ष उत्तम थारुले विश्वास व्यक्त गरे । तराईका आदिबासी थारु समुदायको आफ्नै खालको परम्परागत हस्तकला, सीप, रीतिरिवाज, भेषभुषा, भाषा,संस्कृति भएर पनि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पहिचान हराउँदै गएको थारु अगुवाहरुको बुझाइ छ ।

महोत्सवका आकर्षण

चन्द्रौटा महोत्सवलाई थप आकर्षक, भव्य र सभ्य बनाउन विगतका भन्दा फरक किसिमको व्यवस्थापन गरेको जनाएको छ । महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिने संयोजक पोखरेलको भनाई छ ।

महोत्सवलाई थप आकर्षण बनाउन बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइने भएको छ । साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिए ।

महोत्सव अवधिभर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले बताए ।

महोत्सवको पूर्वसन्ध्यामा ट्याम्पो-इरिक्सा, मोटरसाइकल सहितको र्‍याली, उद्घाटनका दिन विभिन्न जातजाति, धर्म संस्कृति, कला झल्किने बाजागाजासहितको झाँकी र्‍यालीको तयारीमा जुटेको झाँकी संयोजक लेखनाथ घर्तीले बताए । विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्था, क्लब, समूह, सहकारीहरुको पहिचानसहित झाँकीमा सहभागी हुने झाँकी संयोजक घर्तीले बताए।

सूचना प्रविधिको विकाससँगै महोत्सवमा शान्ति सुरक्षालाई नजर गर्दै सचिवालयमा बसेर सिसी टिभीबाट महोत्सवको निगरानी गरिने व्यवस्था मिलाइने प्रविधि संयोजक माधव घिमिरेले जानकारी दिए । डान्स आइडल छनौटका लागि एस.एम.एस.बाट भोटिङको गर्ने व्यवस्था मिलाउन पहल गरिरहेको घिमिरेले बताए । साथैसूचना प्रविधिका विभिन्न स्टलहरु राखी निःशुल्क परामर्शको व्यवस्था समेत मिलाइने क्यान जिल्ला अध्यक्ष समेत रहनुभएका घिमिरेले जनाए । महोत्सव मंसिर १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.