चितुवाको आक्रमणबाट चौधको मृत्यु

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या १४ पुगेको छ।। मङ्गलबार साँझ आम्चौरा गाविस–८ बस्ने २९ वर्षीया पार्वती चन्दको चितुवाले ज्यान लिएपछि मृतकको सङ्ख्या १४ पुगेको हो।

बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाले शृङ्खलाबद्धरुपमा आक्रमण गरिरहेको छ। मङ्गलबार आम्चौरा–८ स्थित माइतबाट छिमेकी शर्माली गाविसमा रहेको घर फर्किंदै गरेको अवस्थामा चितुवाले आक्रमण गर्दा पार्वतीको ज्यान गएको बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए।
चन्दको ज्यान लिएको थाहा पाएपछि त्यस क्षेत्रमा परिचालित ४५ जना सशस्त्र प्रहरी र ३२ जना नेपाल प्रहरीको टोलीले मङ्गलबार रातिदेखि चितुवा मार्न घटनास्थलमा एम्बुस थापेर बसेको प्रहरी निरीक्षक साउदले जानकारी दिए।
चितुवाको आक्रमणबाट भदौ र असोजमा मात्रै आठजनाले ज्यान गुमाएको प्रहरीले बताएको छ। असोज तेस्रो हप्ता पनि छ दिनमा तीनजनाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको बैठकले नरभक्षी चितुवा मार्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सहयोग माग्ने निर्णय गरेको थियो।
त्यसलगत्तै असोज २३ गतेदेखि तल्लो स्वराड क्षेत्रका विशालपुर, आम्चौरा, गिरेगडालगायतका गाविसमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नयन साउदको नेतृत्वमा नेपाल प्रहरी र कञ्चनपुरको शैलेश्वरी गणबाट प्रहरी उपरीक्षक प्रेमप्रसाद पाण्डेयको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन भएको थियो।
चितुवाको आक्रमणबाट असोज २१ गते गिरेगडा–८ बलारा बस्ने सात वर्षीय सन्तोष चन्दको मृत्यु भएको थियो। त्यसैको दुई दिनअघि मात्रै चितुवाले आम्चौरा–७ की आठ वर्षीया मञ्जु चन्दको ज्यान लिएको थियो भने १७ गते आम्चौरा–७ बस्ने चार वर्षीया प्रियङ्का चन्दको ज्यान लिएको प्रहरीले बताएको छ।
चितुवाले ज्यान लिएका सबैजना महाकाली नदी किनारका बासिन्दा रहेका छन्। चितुवा आतङ्क बढेपछि दुईजना वन्यजन्तु विशेषज्ञसमेत तल्लो स्वराड क्षेत्रमै रहेका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट बेन्तिराम चौधरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट सुमन मल्ल चितुवा प्रभावित क्षेत्रमा कार्यरत रहेका जिल्ला वन कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.