थारु अगुवाहरुको पहलमा दाङमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

शत्रुघन चौधरी/दाङ।

‘उन्नत विउ विजन प्रयोग गरौं उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गरौं’ भन्ने मूल नाराका साथ हरि सुनकेशरी फाउण्डेसन दाङ देउखुरीको आयोजना तथा देउखुरी निराउ समूह काठमाडौं, फ्रलोरेन्स अस्पताल लमही दाङ, राप्ती उद्यम प्रालि टिकुलीगढ दाङको सहकार्यमा गत असोज ३१ गते देउखुरी लमहीमा मिनी म्याथुन दौड प्रतियोगिता र कविता वाचन कार्यक्रम सम्पन्न भयो।

कूल ५५ जना खेलाडी सहभागी रहेको उक्त म्याराथुन दौड प्रतियोगितामा १७ जना महिला र ३८ जना पुरुष खेलाडीहरुको सहभागिता थियो । उक्त दौड देउखुरीको पिपरीबाट सुरु भइ लमही चौराहामा अन्त्य भएको थियो । पुरुषहरुको दौड पिपरीदेखि र महिलाहरुको दौड नर्तीदेखि सुरु भइ लमही चौराहामा अन्त्य भएको उक्त प्रतियोगितामा पुरुषहरु १५ किलोमिटर र महिला खेलाडीहरु १० किलोमिटर दौडेका थिए। प्रतियोगितालाई प्रशिक्षक धनिराम चौधरी, पद्यमा चौधरी र पल्पी चौधरीले सहजीकरण गरेका थिए।

प्रतियोगितामा महिलातर्फ अनिशा चौधरी प्रथम, द्वितीयमा विपना केसी, तृतीय सुमित्रा चौधरी र सीमा चौधरी सान्त्वना स्थान हासिल गर्न सफल भए। यसैगरी पुरुषतर्फ अमबहादुर खत्री प्रथम, द्वितीयमा भक्तबहादुर विरकत्ता मगर, तृतीय अकन्तु चौधरी र प्रदिप रोका मगर सान्त्वना स्थान हासिल गरे। सापन समारोहमा विजयी सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । जसमा प्रथमलाई रु. ७५००। द्वितीयलाई रु. ५०००, तृतीयलाई रु. २५०० र सान्त्वनालाई रु. १००० राशि प्रदान गरिएको थियो । यसका साथै निर्धारित दूरी पार गर्न सफल खेलाडीहरुलाई सहभगिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन समारोहमा कृषि विषयवस्तुमा आधारित कविता वाचन पनि गरिएको थियो । उक्त अवसरमा बाबुराम चौधरी, भूमिका चौधरी, दिलिप पौडेल , कृष्णराज सर्वहारी, छविलाल कोपिला, जगतराम यादव, र सूवर्णमान चौधरीले कविता वाचन गरेका थिए। कविता वाचनतर्फ बाबुराम चौधरी, भूमिका चौधरी र दिलिप पौडेललाई सान्त्वना स्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । अन्य कविहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

दौडका खेलाडीहरु निर्धारित स्थान लमही चौराहा पुगिसकेपछि लमहीको सार्वजनिक बगैँचामा एक कार्यक्रम साथ समापन गरिएको थियो। लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमलाई हरि सुनकेशरी फाउण्डेसनका अध्यक्ष सनि चौधरीले अध्यक्षता गरेका थिए।

समापन समारोहमा फाउण्डेसनका संरक्षक डा. राजेश कुमार चौधरी, फाउण्डेसनका सल्लाहकार देवनारायण चौधरी, रामप्रसाद चौधरी, राजेन्द्र प्रसाद चौधरीको उपस्थिति रहेको थियो । सो अवसरमा देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरी, फ्रलोरेन्स अस्पतालका सञ्चालक डा. पुष्प भुषाल, वरिष्ठ साहित्यकार, राप्ती उद्यम प्रालिका अध्यक्ष देवानजंग चौधरी, कृष्णराज सर्वहारी तथा होटेल व्यावसायी संघका सचिव श्री नारायण भुषालको समेत उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथि कुलबहादुर केसीले फाउण्डेसनले छोटो समयमा गरेका विभिन्न चेतनामूलक र सामाजिक कामका लागि प्रशंसा गरेका थिए। उनले यस किसिमका कार्यले समाजमा नयाँ जागरण फैलाउने र विकासको बाटोमा अगाडि बढ्न मद्दत पुर्‍याउने बताए। फाउण्डेसनका संरक्षक डा. राजेश कुमार चौधरीले फाउण्डेसनको उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले दौडलाई रमाइलो र उत्सवको रुपमा लिनुपर्ने बताए। फाउण्डेसन नितान्त सामाजिक कार्यका लागि स्थापित भएकाले सबैले सहयोग गर्नुपर्ने उनको धारणा थियो।

यसैगरी फाउण्डेसनका सल्लाहकार सल्लाहकार देवनारायण चौधरी, रामप्रसाद चौधरी, राजेन्द्र प्रसाद चौधरीले शुभकामना मन्त्वय दिएका तिए। देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले निसराउ समूहको बारेमा प्रकाश पार्नुका साथै फाउण्डेसनसँग सहकार्य गर्न तत्पर रहेको बताए। फ्रलोरेन्स अस्पतालका सञ्चालक डा. पुष्प भुषालले फाउण्डेसनसँग सुरुदेखि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बचन दिए। राप्ती उद्यम प्रालिका अध्यक्ष देवान जंग चौधरीले फाउण्डेसनले कृषिलाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे। उनले कृषकको जीवनस्तर उकास्न कृषि उत्पादनमा जोड दिनुपर्ने बताए। यसैगरी साहित्यकार एवं पत्रकार कृष्णराज सर्वहारीले फाउण्डेसनले साहित्यलाई समेत संगै लिएर राम्रो र सकारात्मक कामको सुरुवात गरेको र आगामी दिनमा यस्ता गतिविधि गर्न कामना गरे। कार्यक्रमका अध्यक्ष सनि चौधरीले फाउण्डेसनको पुनित कार्यमा आफ्नो अमूल्य समय दिई समय दिएकोमा प्रमुख अतिथिलगायत सबै अतिथि, खेलाडी, तथा प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गरे।

स्मरण रहोस पूर्वसांसद स्वर्गीय हरि प्रसाद चौधरी र उनकी धर्मपत्नी स्वर्गीय सुनकेशरी चौधरीको स्मृतिमा स्थापित फाउण्डेसनले हरेक वर्ष दशैंको अवसरमा म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने गरेको छ। दौडमा हरेक वर्ष फरक फरक थिम लिइने गरिएको छ । गत वर्ष स्वास्थ्यलाई मुख्य विषयवस्तु बनाइएको थियो भने यस वर्ष कृषि विषयलाई मुख्य विषय बनाएको थियो। यस फाउण्डेसनले कृषि, स्वास्थ्य, शिक्षा तथा साहित्यको विकासकालागि विविध जनचेतनामुलक कार्यक्रम तथा अन्य कार्यक्रम गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published.