टीकापुर घटनाको पेशी तीन वर्षपछि सुरु, रेशम चौधरीलाई सर्वाेच्चमा हाजिर गराइने

लखन चौधरी/धनगढी।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको पहिलो पेशी सुरू भएको छ । टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएकालाई अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो ।

तर, जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएर बुधवार निर्धारिण गरिएको हो ।

प्रतिवादीतर्फ वकालत गरिरहेका अधिवक्ता गंगाराम उपाध्यायका अनुसार मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने बताए ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट भदौ ८ गते कर्फ्यु जारी गरिएको समयमा सयौं थारु समुदायको घर, पसल, एफएमलगायतमा तोडफोड र आगजनी भएको थियो ।

हालसम्म २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हालः काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । अधिवक्ता गजेन्द्र केसीका अनुसार बिहीवार सर्वोच्च अदालतले पेशी तोकेको हो ।

Leave a Reply

Your email address will not be published.