सरकारको उपलब्धि: मूल्यवृद्धि, भ्रष्टाचार र बलात्कार : सांसद चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकारले सार्वजनिक गरेको उपलब्धिलाई व्यंग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे।

‘सरकारको ५ महिनाभित्र भएको उपलब्धि सिण्डिकेट अन्त्य भाषणमा मात्र, व्यवहारमा छैन। सुन तस्करीमा सानो माछा समातेको, ठूलो माछा समात्न सकेको छैन,’ उनले भने।

उनले सरकारको उपलब्धि हात्ती आयो, हात्ती आयो फुस्स मात्र भएको बताए। उनले सरकारले करवृद्धि गरेर जथाभाबी साइकलमा कर लगाउने, साधु तथा ज्योतिषलाई कर लगाउने काम गरेको बताए।

उनले भ्रष्टाचार झनै मोलाएको बताउँदै देशमा शान्ति सुरक्षा खस्किएको आरोप लगाए। त्यतिमात्र नभएर अपराध पनि मोलाएको भन्दै तत्काल बलात्कारजस्ता जघन्य अपराध रोक्न उनले सरकारलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published.