आत्महत्या भनिएको ११ वर्षीया कमलरीको हत्या भएको आशंका

सन्तोष दहित/दाङ।
बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ।

बढैयाताल गाउँपालिका-७ बस्ने दुर्गा भण्डारीको घरमा काम गर्दै आएकी अस्मितालाई मालिक परिवारले हत्या गरेको मञ्चकी अध्यक्ष सुनिता चौधरीले विज्ञप्ती जारी गर्दै दाबी गरेकी छन्।

‘पटक-पटक आफ्नो घर आउँदा मालिकले आफूलाई दिने यातना र गर्ने दुर्व्यवहारबारे आफन्तलाई बताउने गरेकी अस्मीतालाई दुब्यर्वहार गरी हत्या गरिएको र अपराधबाट बच्नलाई झुण्डयाई आत्महत्या गरेको देखाइएको घट्नाक्रमले देखाएको छ,’ विज्ञप्तीमा भनिएको छ।

घट्नाप्रति मुक्त कमलरी विकास मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ। दोषीलाई उन्मुक्ति दिने प्रयास गरिए कमलरी प्रभावित पाँच जिल्लामा आन्दोलन गर्ने चेतावनीसमेत मञ्चले दिएको छ।

यसअघि ललितपुरमा दाङकी सिर्जना चौधरीको शंकास्पद मृत्यु भएको थियो। पाँच वर्षअघिको त्यो घटनापछि कमलरीहरु काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए। सोही आन्दोलनसँगै सरकारले कमलरीहरुलाई मुक्त घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published.