फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने गरी संसद नियमावली पारित

प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान स‌ंसद पद निलम्बन नगर्ने सहमति भएपछि कांग्रेसले पनि नियमावलीको पक्षमा मतदान गरेकाे हाे ।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सुविधा नदिने उल्लेख गरिएको छ । तर निलम्बन गर्ने भन्ने शब्द राखिएको छैन । नियमावलीमा संसदको कार्यसूची अघिल्लै दिन सांसदहरुलाई दिने व्यवस्था राखिएको बताए ।

त्यस्तै सांसदहरुले शून्य समय र विशेष समयमा उठाएको विषयको सरकारले ५ दिनभित्र संबोधन गर्नै पर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ । संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधा प्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ ।

संसदीय समितिका सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ । संसदीय समितिको संख्या भने १० वटा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.