देशवासीका नाममा प्रधानमन्त्रीको सन्देश- संविधानसमा सरिक हुन आह्वान

sushil_koirala20130701002

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, नागरिक समाजसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेका छन्।
प्रधानमन्त्री कोइरालाले आइतबार साँझ देशवासीका नाममा दिएको सन्देशमा सो आह्वान गरेका हुन्।

प्रधानमन्त्रीले सन्देशमा भने- राष्ट्र हामी सबैको साझा हो, राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ, यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं।

हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौँ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना नटरेकोले संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई हार्दिक आग्रह गरेका छन्। उनले संविधानसभा बाहिर रहनु भएका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पुर्‍याउन हार्दिक अपिल गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.