सिकलसेलको लागि बजेट व्यवस्था गर्न सांसद ग‌ंगा थारूको माग

नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौँवाले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै छुटेका विषयहरूलाई आगामी बजेटमा राख्न सुझाव दिएकी छन्।

सरकारको तर्फबाट राष्ट्रपतिले सोमबार पेस गरेको नीति तथा कार्यक्रममाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै सांसद चौधरीले कृषकले उब्जनी गरेको कृषि उपजको उचित मूल्य पाउन नसकेको बताइन्। चौधरीले कृषकलाई उचित मूल्यको व्यवस्था नगर्दासम्म उनीहरूको जीवनस्तर माथि उठ्न नसक्ने बताइन्।

‘कृषकले उचित मूल्य नपाएकाले जीवनस्तर उठ्न सकेको छैन’, उनले भनिन्, ‘कमलरीको शिक्षामा प्राथमिकतामा राखेको भए अझै सुन्दर हुने थियो । थारु समुदायले मातृभाषामा पढ्न पाउनु पर्छ । त्यसको व्यवस्था हुनुपर्छ ।’

थारु समुदायलाई मात्रै लाग्ने सिकल सेल एनिमिया जस्तो प्राणघातक रोगको उपचारमा प्रचण्ड सरकारले गरेको व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको भन्दै सांसद चौधरीले आक्रोश पोखिन् । उनले भनिन्, ‘थारुलाई मात्रै लाग्ने रोगको उपचारमा ध्यान दिनुपर्छ । उपचारको लागि प्रचण्ड सरकारले लिएको नीति ठोस रुपमा कार्यान्वयन होस् । वजेट व्यवस्थापन होस् ।’

उनले नीति तथा कार्यक्रममा कमैया कमलरीका लागि केही उल्लेख नभएको बताइन् । उनीहरुलाई पनि शिक्षा, स्वास्थ्यमा टेवा पुग्नेगरी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन्।

पेट्रोलियम पदार्थको भण्डारण बनाए जस्तै अन्न भण्डारको व्यवस्था गर्न पनि सांसद चौधरीले सरकारलाई सुझाव दिएकी छिन् ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई सत्ता पक्ष र प्रतिपक्ष नभनेर मान्ने हो भने देशको विकास छिटो हुने उल्लेख गरिन् । नीति तथा कार्यक्रमले गास, वास र कपासका साथै भ्रष्टाचार नियन्त्रणदेखि महिला हिंसा अन्त्यका विषय समेटेको बताइन् ।

उनले आयातलाई नियातमा बढावा दिने गरेर योजना बनाउनुपर्ने समेत बताइन् । चौधरीले भनिन्, ‘बनस्पती निर्यातको कुरा सुन्दर पक्ष हो । अर्गानिक कृषिको विषय पनि राम्रो छ ।’

Leave a Reply

Your email address will not be published.