यहाँका थारू महिलाको समुहले करीब एक करोड रूपैयाँको लागतमा होटल व्यवसाय सञ्चालन थालेको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ गुणाहरमा थारू सांस्कृतिक अतिथिगृह नाम दिइएको होटल सामूहिक लगानीमा सञ्चालन गरिएको हो ।
होटलको सञ्चालक समूहमा २९ महिला आबद्ध छन् । कावासोती १५ थारू समुदायको बाहुल्यता रहेको क्षेत्र हो । नारायणी नदी नजिकै पर्ने भएकाले यहाँका महिला फुर्सदको समयमा माछा मार्ने र खेतीपातीमै व्यस्त हुने गरेका छन् । यहाँको चर्चित अमलटारी थारू होमस्टेको सफलता देखेका महिलाले संगठित भएर होटल व्यवसायमा लगानी गरेका हुन् ।
स्थानीय थारू संग्रहालयको दुई बिघा जग्गा भाडामा लिएर होटल खोलिएको हो । थारू समुदायको संस्कृति झल्कने ६ वटा थारू घर (कटेज) निर्माण गरिएका छन् । हरेक ब्लकमा दुई/दुई कोठा छन् । हरेक कोठामा दुईजना सुत्न मिल्ने पलङ राखिएका छन् । अतिथिको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न एउटा सांस्कृतिक भवन पनि निर्माण गरिएको छ । उक्त भवनमा सभा समारोह र कार्यक्रम आयोजना पनि गर्न मिल्छ । पाहुनाहरूका लागि थारू संस्कृति झल्कने लाठी र झम्टा नाच पनि प्रस्तुत गरिन्छ ।
अतिथिगृहका प्रत्येक कोठा र परिसरमा थारू संस्कृति झल्कने माटोको जाँतो, चुल्हो, डेहरी र भाडाकुँडा सजाएर राखिएका छन् । थारूहरूले खेतबारीमा आउने वन्यजन्तुबाट बाली जोगाउन बनाउने गरेको मचानलाई परिसरमै भ्युटावरको आकार दिएर निर्माण गरिएको छ । अतिथिगृहमा आउने पाहुनाका लागि थारू समुदायका खान्कीमा हुने चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हाँसको मासु र माछाका परिकार मुख्य खानेकुरा हुने गरेको होटल व्यवस्थापक तथा समूहकी अध्यक्ष देउकुमारी मुखियाले बताइन् । ‘पाहुनालाई हामी थारूको गाउँमा आएर बसेको स्वाद दिन्छौं,’ उनले भनिन्, ‘हाम्रो रहनसहन, संस्कृति, खाना, नाच, परम्परादेखि चलाउने सामान सबै हेर्न पाउँछन् ।’
यस्तै भिलेज वाक, बयलगाडा सफारी, जंगल वाक, साइकल टुर, जिप सफारी, जंगल सफारी, बोटिङ, पोखरीमा फिसिङ र थारू संग्रहालयको अवलोकन जस्ता मनोरञ्नात्मक सेवासुविधासमेत होटलले प्रदान गर्ने उनले बताइन् । होटलमा समूहकै पाँचजना आफैं काम गर्छन् ।
व्यवस्थापनका सबै काम महिलाले गर्ने भएका छन् । ‘महिलाहरू पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन मात्रै होइन आयआर्जन पनि बढाउन अतिथिगृह खोलेका हौं,’ अध्यक्ष मुखियाले भनिन्, ‘समूहमा बचत गर्दै आइरहेका थियौं । बचतमार्फत नयाँ क्षेत्रमा लगानी गरौं र आम्दानीको नियमित स्रोतको व्यवस्थापन गरौं भनेर होटल खोलेको हो ।’ आफनै गाउँमा थारू संस्कृतिमा आधारित रहेर काम गर्ने योजनालाई गाउँलेले साथ दिएको उनले बताइन् । ‘सबैको सल्लाह मिलेपछि हामीले यस्तो काम थालेको हो,’ उनले भनिन् । अतिथिगृह सञ्चालनका लागि २९ महिलाले जनही ३/३ लाख रुपैयाँ उठाएर लगानी गरेका हुन् । उनीहरूले लगानीसँगै भवन निर्माणका लागि करिब चार महिना श्रमदान गरेका थिए ।
अतिथिगृह सञ्चालन गर्दा हुने सबै आम्दानी समूहमा जम्मा गर्ने र पहिलो चरणमा ऋण तिर्ने योजना उनीहरूको छ । ‘नजिकैको गाउँमा होमस्टे चलाएर सफलता पाएको देखेर हामीलाई पनि केही गर्ने उत्साह भएको हो,’ अध्यक्ष मुखिया भन्छिन्, ‘यो उपायमा हाम्रो गाउँका सबैले समर्थन गरेकाले ठीक काम गरियो भन्ने लागेको छ ।’ नारायणी नदीको किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले अतिथिगृह सञ्चालनमा ल्याइएको थारू गाउँ पर्यटकीय क्षेत्रका रूपमा पनि चिनिएको छ ।
नजिकै बागखोर गाउँ छ । थारू, बोटे, माझी र मुसहर समुदायको बाहुल्यता रहेको बागखोरमा ६ वर्षयता अमलटारी होमस्टे सञ्चालनमा छ । उक्त होमस्टेको योजनाले गाउँलेको आयस्तर वृद्धिसँगै गाउँको मुहार फेरेको छ । होमस्टे स्थापनाले पर्यटकको आगमनमा वृद्धि भएको छ । यहाँका अल्पसंख्यक आदिवासीका नयाँ पुस्ता पर्यटकका पथप्रदर्शक र अंग्रेजीमा कुरा गर्न सक्ने भएका छन् ।
नारायण शर्मा/कान्तिपुर दैनिक