रानाथारूलाई आदिवासी जनजातिमा सूचीकरणकाे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन

रानाथारु जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानालगायत ३६ जनाको डेलिगेशन टोलीले आज प्रधानमन्त्री ओलीलाई चार बुँदे ज्ञापन बुझाएको हो ।

सरकारसंग भएको सहमतिअनुसार, आदिवासी जनजातिको सुचीमा रानाथारु जातिलाई अविलम्ब सुचिकृत गर्नुपर्ने माग गरिएको छ । २०६९ जेठ १४ गते रानाथारु संघर्ष समिति र सरकारबीच सुचिकरणको विषयमा भएको सहमति अनुसार सुचिकरण गर्नुपर्ने माग गरेको सांसद नारदमुनि रानाले जनाए ।

साथै उक्त ज्ञापनपत्रमा सार्वजनिक सेवाहरु तथा राज्यका निकायहरुमा रानाथारुलाई जनसंख्याको आधारमा प्रतिनिधित्व गराउनुपर्ने, रानाथारु समुदायको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक विकासको लागि राज्य विशेष कार्यक्रम ल्याउनुपर्ने र रानाथारु समुदायबाट हालसम्म डाक्टर, इन्जीनियर लगायत प्राविधिक उच्च शिक्षा आर्जन गर्न नसकेकोले अलग्गै छात्रबृति कोटाको व्यवस्था राज्यले गर्नुपर्ने माग गरिएको छ । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझाउन पुगेको टोलीलाई सुचिकरणको लागि पहल गर्ने आश्वासन दिए ।

डेलिगेसन टोलीमा पूर्व सभासद कृपाराम राना, पुरन रानाथारु, नोपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष शिवराज राना, अनेरास्ववियु थारु विद्यार्थी राष्ट्रिय कमिटी अध्यक्ष कमल सिंह राना, समाजका केन्द्रीय सचिव नन्दकुमार राना, समाजका केन्द्रीय सदस्य सन्तकला राना, समाजका कञ्चनपुर अध्यक्ष प्रकाश राना, रानाथारु संघर्ष समितिका अध्यक्ष सागर राना, राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका सचिव भानुप्रताप रानालगायतको टोली राजधानी पुगेको छ ।

Leave a Reply

Your email address will not be published.