प्रदेश २ मा थप आठ दिन सार्वजनिक विदा, छठ र होलीमा दुई दुई दिन विदा हुने

संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिन निर्णय गरेको दाहालले बताए ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइनेछ ।

प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकारमातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन । कुनै पनि कानुन वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौं पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

मुद्रण विभागले कुनै पनि सूचना प्रकाशित गर्न संघीय कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने प्रावधान छ । तर, प्रदेश सरकारले गरेको निर्णय मुद्रण विभागले प्रकाशित गर्न आनाकानी गरिरहेको स्रोतले जनाएको छ । यसअघि प्रदेश २ सरकारले ल्याएको आर्थिक कार्यविधि विधेयक प्रदेश सभाबाट पास भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसक्दा पनि मुद्रण विभागमा प्रकाशित हुन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published.