राष्ट्रिय सभामा थारु उम्मेदवार राख्न बाँकेका थारु नेताको दबाब

विमला चौधरी/नेपालगञ्ज।

बाम गठबन्धनका थारु अगुवा नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभाको लागि बाँकेबाट थारु उम्मेदवारको सुनिश्चिताको माग गरेका छन् । बाम गठबन्धन थारु अगुवा कार्यकर्ता, बाँकेले आइतबार नेपालञ्जमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी बाँकेका सदस्य चनद्र बहादुर चौधरीले ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा मओवादी केन्द्रबाट एक एक जना थारु उम्मेदवार सुनिश्चित गर्न माग गरे ।

गएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बाँकेका थारु नेताहरुलाई थारु भएकै कारण राजनीतिक दलहरुले उपेक्षा गरेको आरेप लगाउँदैै चौधरीले सबै तहमा थारुहरु नेतृत्व गर्न सक्षम रहेकाले थारु नेताहरुले पनि अवसर पाउनुपर्ने माग गरे ।

बाँकेमा जनसंख्याको पहिलो स्थानमा थारुहरु भएपनि तीन ठूला दलले एक जनासम्म पनि थारु उम्मेदवार नदिएर सिंगो थारु समुदायलाई सोंच्न बाध्य बनाएको थारु नेताले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवं नेकपा माओबादी केन्द्र बाँकेका सदस्य सुरेश चौधरीले दलहरुले थारु नेतालाई बिभिन्न आश्वासन देखाएर पटक पटक झुक्याउने काममात्र गरेकाले अब आश्वासनको पछि नलाग्ने बताए । थारु समुदायको बिश्वासिलो अभिमतबाट निर्वाचनमा अत्याधिक जनमत ल्याएको स्मरण गर्न आग्रह गर्दै उनले हालः हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको लागि थारुलाई अवसर नदिए पार्टीले ठूलो घाटा ब्यहोर्ने चेतावनी दिए ।

बाँकेका समग्र थारु नेताहरु अब राजनीतिक दलहरुको उपेक्षित ब्यवहारबाट सचेत र एकजुट भइसकेको उनले बताए । थारु नेताहरुको मागप्रति दलहरु सकारात्मक भएमा बाँकेबाट कसको नाम सिफारस हुन्छ ? भन्ने प्रश्नमा उनीहरुले बाँकेमा थुप्रै थारु नेता नेतृत्व गर्न सक्षम रहेपनि कसकसको उम्मेदवारी दिनेबारे आफूहरुबीच आन्तरिक सहमति भइसकेको सबैले एउटै स्वरमा जवाफ दिएका थिए ।

पत्रकार सम्मेलनमा तीन दर्जन बाढी थारु नेता कार्यकर्ताको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.