मजदुरी गरेर थारु महिलाको समूहले पक्की भवन बनाउँदै

कारी महतो/चितवन।
चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोग विना नै निकै उल्लेखनीय प्रगति गरेका छन् ।
प्रगति महिला किसान समूहले आफ्नै कोषबाट ११ लाख बराबरको ६ धुर घडेरी किनेर त्यसमा ३ कोठे पक्की भवन बनाएका छन् । हालसम्म भवन बनाउनका लागि घडेरी सहित ३५ लाख खर्च भैसकेको समूहका सचिव रीता महतोले बताए । उक्त भवनको छत ढलान गर्न मात्र बाँकी छ । भवन बनाउनका लागि कुनै पनि संघसंस्थाले आर्थिक सहयोग नगरेपछि समूहका सबै सदस्यहरुले आर्थिक संकलन गर्न सामूहिक रुपमा कृषि मजदुरी गर्दै आएका छन् । “हामीले नगरपालिका लगायत विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गरेका थियौं तर कुनै संघसंस्थाले पनि सहयोग नगरेकोले भवन निर्माण सम्पन्न गर्न ज्यालामजदुरी गर्न थालेका हौं” सचिव रीता महतोले बताइन् ।
उनीहरुले हरेक काम समूहका सबै सदस्यहरुको सहमतिमा गर्ने गरेका छन् । कृषि मजदुरी अन्तर्गत उनीहरुले सामूहिक रुपमा विभिन्न कृषिबालीहरु रोप्ने, गोडमेल गर्ने, काट्ने इत्यादि सबै काम गर्ने गरेका छन् । यसवर्ष सामूहिक रुपमा धान गोडमेल गरेर ३ लाख १ हजार रुपैयाँ संकलन गरेको कुरा समूहका सदस्य भगवती चौधरीले बताइन् । उनले भनिन् “धान गोडेर तीन लाख एक हजार जम्मा गरेका छौं, थप रकम संकलन गर्न सामूहिक रुपमा तोरी काट्ने सल्लाह पनि भएको छ ।”
समूहले जग्गा भाडामा लिएर सामूहिक अर्गानिक खेती पनि गर्ने गरेका छन् । अर्गानिक खेती अन्तर्गत उनीहरुले टनेल बनाएर टमाटर, काउली, बन्दा लगायत खेती गरेका थिए । समूहले गरेको अर्गानिक खेतीबाट प्रभावित भई जिल्ला कृषि विकास कार्यालय चितवनले त्यस समूहलाई पुरस्कार समेत दिएको कुरा समूहका सदस्य काली चौधरीले बताइन् ।
समूहले विभिन्न मेला महोत्सवमा थारु खानाका परिकारहरु बिक्री वितरण गरेर पनि रकम संकलन गर्दै आएका छन् । गतवर्ष सात दिनसम्म खिचरा महोत्सवमा समूहले ६० हजार नाफा गरी बचत गरेको कुरा समूहका सदस्य जानकी चौधरीले बताए । यसवर्ष ११ दिन सम्म चल्ने खिचरा महोत्सवमा उनीहरुले कम्तिमा डेढ लाख रुपैयाँ नाफा गरी बचत गर्ने बताउँछिन् । सामाजिक उद्यमी महिला सहकारी संस्थाको नामबाट मेला महोत्सवमा उनीहरुले थारु खानाका परिकारहरुको बिक्री वितरण गर्ने गरेका समूहका सदस्य पार्वती चौधरीले बताइन् । महोत्सवहरुमा अरु होटल स्टलको तुलनामा निकै कम मूल्यमा थारु परिकार बेच्ने गरेकोले थोरै नाफा भएको महिला समूहका सदस्य पार्वती चौधरीले बताइन् । नाफा कमाउने भन्दा पनि थारु खानाको प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य भएकोले अरु स्टल भन्दा हामीले सस्तोमा बिक्री गर्ने गरेको उनले बताइन् । खिचरा महोत्सवमा स्टल बुकिङ्ग गर्न आएको समूहले सो कुरा बताएका हुन् ।
२०६९ सालमा दर्ता भएको सामाजिक उद्यमी महिला सहकारी संस्थाको सकृयतामा विभिन्न २८ वटा समूहहरु गठन गरिएको छ । सहकारीमा २२० जना सदस्यहरु छन् । सहकारीका सबै सदस्यहरु महिला छन् । ती मध्ये प्रगति महिला किसान समूहले कम अवधिमा प्रगति गरेको छ । अध्यक्ष तेजकुमारी चौधरीको अनुपस्थितिमा पनि अन्य पदाधिकारी र सदस्यहरु निकै सक्रियतापूर्वक हरेक काममा सहभागी हुने भएकोले सहकारी र समूहले प्रगति गरेको हो ।
महिलाहरुको सहकारी संस्था र समूहको सामूहिक क्रियाकलापहरुलाई मध्यनजर गरी नगरपालिका, जिल्ला कृषि विकास कार्यालय लगायत दातृसंस्थाहरुले सहयोग गरेको खण्डमा यी महिलाहरु नेपालकै नमूना सहकारी र कृषक समूह बन्न सक्छ । तर पँहुचको अभावमा उनीहरुलाई सहयोग जुट्न नसकेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.