समानुपातिक सूचीमा ४ सय ४ जना थारुको नाम

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

आयोगले २ सय ५६ जनाको नाम कटौती गरेको छ । तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाउँदै आयोगले भनेको छ, ‘२ सय ५३ को दाबीविरोध तथा कानुनबमोजिम योग्यता नपुगेकाले उम्मेदवारी रद्द भएको छ ।’

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ प्रदेश १ मा ५ सय ७७, प्रदेश २ मा ८ सय ४, प्रदेश ३ मा ७ सय ७४, प्रदेश ४ मा ३ सय १९, प्रदेश ५ मा ६ सय ४, प्रदेश ६ मा २ सय ६ र प्रदेश ७ मा २सय ८१ जनाको उम्मेदवार कायम भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण आयोगले सार्वजनिक गरेको थियो ।

आयोगका अनुसार ५८ सय ३८ उम्मेदवारमध्ये समावेशी समूहअनुसार आदिवासी जनजाति ७ सय ६७ पुरुष, ८ सय ८१ महिला र १ अन्य गरी जम्मा १६ सय ४९, खस आर्य ८ सय ४५ पुरुष र ९ सय ४७ महिला गरी १७ सय९२, थारू १ सय ५५ पुरुष र २ सय ४९ महिला गरी ४ सय ४, दलित ३ सय ३६ पुरुष र ४ सय ५९ महिलासहित ७ सय ९५ जना, मधेसी ४ सय ३७ पुरुष र ५ सय ३५ महिला गरी ९ सय ७२ जना, मुस्लिम ८० पुरुष र १ सय ४६ महिलासहित २ सय २६ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ २२ सय ७३ मध्ये १ हजार ४८ जना पुरुष र १२ सय २४ जना महिला र १ जना अन्य लिंगको उम्मेदवारी कायम भएको छ ।

Leave a Reply

Your email address will not be published.