कैलालीमा ४४ जना थारु उम्मेदवार, थारुका प्रतिस्पर्धी थारु नै

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाबाट विभिन्न पार्टीले ३२ प्रतिशत थारू नेतालाई उम्मेदवार बनाएका छन् । कैलालीका १ सय ३७ उम्मेदवारमध्ये ४४ जना थारू नेता छन् । थारूमा पनि महिला उम्मेदवारको संख्या भने न्यून देखिएको छ । झन्डै ४२ प्रतिशत थारू जनसंख्या रहेको कैलालीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि ४४ जना थारूले उम्मेदवारी दर्ता गराएका छन् ।

४४ जना थारू उम्मेदवारमध्ये प्रदेशसभाका लागि ३१ र प्रतिनिधिसभाका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संविधानमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने व्यवस्था रहे पनि कैलालीमा कुल उम्मेदवारको ४ प्रतिशत र थारू उम्मेदवारको १५ प्रतिशत मात्रै थारू महिलाले टिकट पाएका छन् । कैलाली जिल्लामा ४४ जना थारू उम्मेदवारमध्ये ६ जना महिला छन् । कैलालीमा झन्डै आधा जनसंख्या थारू समुदायको भएकोले उनीहरूको प्रतिनिधित्व पनि सोही अनुपातमा हुनुपर्ने धनगढी–५ जाँईका साधुराम चौधरीले बताए ।

थारूलगायत अन्य पिछिडिएको जातिको माग तथा अवस्था स्थानीय नेताले मात्रै बुझ्न सक्ने भएकाले थारू समुदायबाट नेता भए विकास गर्न सजिलो हुने उनको तर्क छ । केन्द्रबाट उम्मेदवार छानिने भएकाले कैलालीमा स्थानीय नेताको उम्मेदवारी कम देखिएको हुनसक्ने उनको अनुमान छ । महिलाको पहुँच कम भएकोले स्थानीय तहको निर्वाचनभन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा महिलाको सहभागिता निकै कम देखिएको उनले बताए ।

कैलाली जिल्लामा सबैभन्दा बढी राष्ट्रिय जनता पार्टीले १० जना थारूलाई टिकट दिएको छ । कांग्रेसले ६, संघीय समाजवादी फोरम नेपालले ५ र नयाँ शक्ति पार्टीले ४ जना थारूलाई टिकट दिएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, एमाले र माओवादी केन्द्रले ३÷३, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चाले २÷२ जना थारूलाई टिकट दिएका छन् ।

त्यसैगरी, २ जना स्वतन्त्र उम्मेदवार छन् भने विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनसमाजवादी पार्टी नेपालले समान १÷१ जनालाई टिकट दिएका छन् । विकास गर्न नेतृत्व गर्न सक्ने नेता चाहिने भएकाले जातिगतभन्दा कार्यक्षमता हेरी पार्टीले टिकट दिएको पूर्वसभासद तथा कैलाली क्षेत्र नम्बर–५ प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि रानाले बताए । क्षमता भएका ३ जना थारू नेतालाई आफ्नो पार्टीले टिकट दिएको उनले दाबी गरे ।

थारू बहुल क्षेत्रमा थारू नेता नै प्रतिस्पर्धी
थारू समुदायको बाहुल्य रहेको कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि थारू समुदायका नेताबीच नै प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा वाम गठबन्धन, कांग्रेस र संघीय समाजवादी फोरमलगायत सबैजसो दलले थारू नेतालाई उम्मेदवार बनाएका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ पाँच र प्रदेश सभातर्फ नौ गरी १४ जना थारू उम्मेदवार प्रतिस्पर्धामा छन् । थारू समुदायका मतदाता निर्णायक रहेकाले मतदातालाई आकर्षित गर्न सबैजसो दलले सोही समुदायका नेतालाई नै उम्मेदवार बनाएका हुन् ।

वाम गठबन्धनले माओवादी नेता गौरीशंकर चौधरी, कांग्रेसले लोकतान्त्रिक फोरमबाट आएका रामजनम चौधरी र संघीय समाजवादी फोरमले तत्कालीन फोरम लोकतान्त्रिकका सहअध्यक्ष भानुराम थारूलाई उम्मेदवार बनाएको छ । गौरीशंकर र रामजनम यस क्षेत्रका लोकप्रिय नेता हुन् । संविधानसभाको दोस्रो निर्वाचनमा गौरीशंकर तत्कालीन क्षेत्र नम्बर ३ र रामजनम तत्कालीन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । तत्कालीन क्षेत्र नम्बर ३ र ४ का केही क्षेत्रलाई मिलाएर अहिले क्षेत्र नम्बर ३ बनाइएको छ ।

रामजनमको बलियो प्रभाव रहेको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका दुईवटा वडा अहिले क्षेत्र नम्बर १ मा गाभिएका छन् । आफ्नो पकड भएका केही क्षेत्र छुट्टिनु र तत्कालीन लोकतान्त्रिक फोरमका सहअध्यक्ष उम्मेदवार बन्नुले रामजनमलाई चुनौती छ ।

कांग्रेसमा पार्टी विलयपछि यहाँ फोरम लोकतान्त्रिक दुई खेमामा विभाजन भएको थियो । लोकतान्त्रिक फोरमको एउटा खेमाले भानुराम थारूलाई समर्थन गरेको छ । सांगठनिक रूपमा कमजोर देखिए पनि थारू क्षेत्र नम्बर ३ कै स्थानीय भएकाले राम्रो भोट पाउन सक्ने देखिन्छ ।

दुई पूर्वमन्त्रीसहित थरूहट आन्दोलनबाट उदाएका भानुरामले एउटै क्षेत्रबाट उम्मेदवारी दिएपछि कसले बाजी मार्ला भनेर राजनीतिक कार्यकर्ता र मतदाताबीच चर्चा हुन थालेको छ । यस क्षेत्रमा गौरीशंकर र रामजनमबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन स्थानीय मतदाताको छ ।
थारू, आदिवासी, जनजातिको हक–अधिकार प्राप्ति र विकास निर्माणलाई थारू उम्मेदवारले मुख्य मुद्दा बनाएका छन् । जिल्लाको अन्य क्षेत्रभन्दा विकासमा पछि परेको यस क्षेत्रका कतिपय ठाउँमा सडक, विद्युत्लगायतका पूर्वाधार पुग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published.