राजपाका ३० शीर्ष नेता चुनाव लड्ने, गोविन्द चौधरी नवलपरासीबाट उठ्ने

लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।
सूची तय गरिए पनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरूले बताएका छन् । यसका लागि बिहीबार फोरम नेपालसँग राजपाले छलफल गर्नेछ । सोमबार, मंगलबार र बुधबार राजपा अध्यक्षमण्डलका सदस्यहरूले बैठक गरी पार्टीबाट प्रत्यक्ष्य चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय गरेका हुन् ।

राजपा प्रवक्ता सन्तोष मेहताले पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय भएको जानकारी दिँदै फोरम नेपालसँगको बैठकपछि टुंगोमा पुग्ने बताए । ‘हामीले लोकतान्त्रिक गठबन्धनसँग ५५ सिट मागेका छौं । त्योमध्ये हामी र फोरम नेपालले आधा–आधा गर्ने भएका छौं’, मेहताले भने, ‘त्यसैले फोरम नेपालसँगको बैठकपछि यो सूचीमा केही तलमाथि हुने सम्भावना छ ।’

स्रोतका अनुसार राजपा अध्यक्षमण्डलका ६ सदस्यको नाम प्रत्यक्ष चुनाव लड्ने सूचीमा राखिएको छ । यसमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको पनि नाम छ । ठाकुरको नाम महोत्तरी ३ बाट राखिएको छ । उनले भने प्रत्यक्ष चुनाव लड्ने चाहना नराखेको स्रोतको भनाइ छ ।

अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो धनुषा ३, महेन्द्र यादव सर्लाही, अनिल झा रौतहट, राजकिशोर यादव सिरहाबाट चुनाव लड्ने सूचीमा राखिएको छ । अन्य नेताहरू जितेन्द्र सोनाल बारा, बद्री मण्डल मोरङ, रामचन्द्र कुशवाह सुनसरी, सर्बेन्द्रनाथ शुक्ल रूपन्देही, शेखर सिंह सप्तरी, प्रदीपशमशेर जबरा रौतहट, सरोजकुमार याद बारा, मनीष सुमन सप्तरी, लक्ष्मणलाल कर्ण पर्साबाछ चुनाव लड्ने तयारी छ । यसैगरी गोविन्द चौधरी नवलपरासी, सन्तोष मेहता सुनसरी, सुरिता साह महोत्तरी, चन्दा चौधरी सर्लाहीबाट निर्वाचन लड्ने सूची तयार पारिएको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूची तयार गर्न राजपा अध्यक्षमण्डलको बैठक बिहीबार पनि बस्नेछ । फोरम नेपालले भने प्रत्यक्ष्यतर्फ चुनाव लड्नेको प्रारम्भिक सूची अझै तयार नपारेको नेताहरूले बताएका छन् । फोरम नेपालकी राजनीतिक सदस्य रेखा यादवले प्रत्यक्ष चुनाव लड्ने नेताहरूका बारेमा पार्टीभित्र अझै छलफल नभएको बताइन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published.